नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखा गठन गरिएको छ । अभिकर्ताहरूको हकहित संरक्षण, पेशागत एकता सुदृढीकरण र बीमित तथा अभिकर्ताका अधिकारका विषयमा सशक्त आवाज पु¥याउने उद्देश्यले सो शाखा समिति गठन गरिएको बताइएको छ ।
अभिकर्ताहरूको उल्लेखनीय सहभागितामा वीरगञ्जमा आयोजित कार्यक्रमबीच समिति गठन गरिएको हो । समितिको अध्यक्षमा कमलप्रसाद बराल चयन भएका छन् । उपाध्यक्षमा उमेशप्रसाद साह, सचिवमा कविता खड्का, सहसचिवमा सुरेशप्रसाद कानु र कोषाध्यक्षमा जटाशंकर मुखिया चुनिएका छन् । सदस्यहरूमा निलम पन्त, शिवनाथप्रसाद यादव, सुभाषकुमार पटेल, सुनील पण्डित, हरिओमप्रसाद प्रजापति, नन्दुरामप्रसाद यादव, शम्भुप्रसाद साह, प्रतिमा चौरसिया र उमाशंकर ठाकुर हजाम रहेका छन् । प्रमुख सल्लाहकारमा तिजन प्रसाद कलवार, सल्लाहकारमा देवपुजन प्रसाद गौरो थारु र गीता खनाल चुनिएका छन् ।

कार्यक्रममा अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले संगठनप्रति विश्वास र एकताको सन्देश दिएको अध्यक्ष बारालको दाबी छ । नवगठित समितिले अभिकर्ताहरूको अधिकार सुनिश्चित गर्दै पेशागत मर्यादा कायम गर्न सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताएका छन् ।
कार्यक्रमको उदघाटन नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष अम्बिका साह तेलीले पानसमा दीप बालेर गरेका थिए । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद आचार्य, केन्द्रीय सचिव तेज प्रसाद तिवारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले अभिकर्ताहरूको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पु¥याउने, पेशागत सुरक्षा सुनिश्चित गर्न पहल गर्ने र सबै अभिकर्ताहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै बीमा क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्ने लक्ष्य राखेको पनि बताए ।
सहभागी अभिकर्ताहरूले संघको विस्तारले बीमा क्षेत्रमा कार्यरत व्यक्तिहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गरेका छन् । यसले पेशागत समस्या समाधानमा सहयोग पुग्ने र अभिकर्ताहरूबीच सहकार्य र एकता बढाउने अपेक्षा गरिएको उनीहरूको भनाइ छ ।
कार्यक्रम सञ्चालन वरिष्ठ एजेन्सी म्यानेजर नरेश प्रसाद पटेलले गरेका थिए ।



