पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगन्जको नारायणी अस्पतालमा बिचौलिया र दलालहरूको सक्रियताले बिरामीहरू प्रत्यक्ष मारमा परेको भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालसंग कडा कदम चाल्न आग्रह गरेका छन्।
मंगलबार प्रजिअ दाहालको कार्यकक्षमा भएको छलफलमा सांसद कानुले अस्पतालमा डाक्टरहरूले निजी अस्पतालमा बिरामी रेफर गर्न कमिसन लिने, एम्बुलेन्स चालकमार्फत बिरामी प्रभावित पार्ने लगायतका गैरकानुनी गतिविधि बढ्दै गएको बताए। उनले चिकित्सक समयमा नआउने, ड्युटी पूरा नगर्ने जस्ता क्रियाकलापले सेवाग्राहीलाई समस्यामा पार्ने भन्दै नियमित अनुगमन र कडाइ आवश्यक भएको बताए।
सांसद कानुले छठ पर्वको अवसरमा छठघाट वरपर माछा–मासु बिक्री भइरहेका गतिविधि रोक्न र धार्मिक आस्था तथा सामाजिक सद्भावको सम्मान गर्न आग्रह समेत गरेका छन्।
छलफलमा उनले गर्मी मौसमसँगै बढ्ने आगलागी र अन्य विपद् व्यवस्थापनका लागि दमकल, पानी स्रोत, उद्धार टोली र आवश्यक उपकरणको पर्याप्त व्यवस्था गर्न प्रजिअ दाहाललाई सुझाएका थिए।
प्रजिअ दाहालले सांसदको ध्यानाकर्षण गरिएको विषय सकारात्मक रूपमा लिने र आवश्यक अनुगमन, समन्वय तथा कारबाही अघि बढाउने प्रतिबद्धता जनाए।
छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया, प्रकाश साह लगायतको उपस्थिति रहेको थियो।