पर्सा निर्वाचन क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनी लाई भेटेर स्वास्थ्य अवस्था बुझ्दै दोषी पतिको छिटो पक्राउ र कडा कानुनी कारबाहीको माग गरेका छन्।
बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल मा उपचाररत हरिकला देवी सहनीलाई बिहीबार सांसद कानुले भेटेका हुन्। भेटका क्रममा उनले पीडितको उपचारमा कुनै कमी नपरोस् भनेर आफैंले उपचार खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सांसद कानुले भने, “आफ्नो तलबबाट दिएर होस् वा अन्य माध्यमबाट, उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो।” उनले पीडितमाथि जघन्य हमला गर्ने उनका श्रीमान् विश्वनाथ सहनी लाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह पनि गरेका छन्।
कानुले घटनाको विषयमा पर्सा प्रहरी प्रमुख सुदीपराज पाठक सँग जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। उनले भने, “सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ।”
सांसद कानुले घरेलु हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याउँदै संसद् अधिवेशन सुरु भएपछि यस विषयलाई सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले थपे, “घरेलु हिंसा रोक्न समाजका सबै पक्ष सक्रिय हुनुपर्छ। सरकारसँग पीडित महिलाको लागि राहतको व्यवस्था गर्न पनि माग गर्ने छु।”
घटनाको पृष्ठभूमि:
पर्सा–पर्सागढी नगरपालिका–७ मा आइतबार बिहान करिब ७ बजे घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला देवी सहनीमाथि क्रूर आक्रमण गरेका थिए। उनले सहनीको हातखुट्टा र मुख कपडाले बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए।
गम्भीर घाइते भएकी सहनीलाई प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डे नेतृत्वको टोलीले उद्धार गरेको थियो। प्रारम्भिक उपचारपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पताल पठाइयो। तर उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल सारिएको थियो।
घटनापछि फरार रहेका आरोपी विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना अत्यन्तै क्रूर प्रकृतिको भएकाले दोषीमाथि कडा कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।