नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मनोज चौधरी पक्राउ प्रकरणले राजनीतिक विवादको रूप लिँदै गर्दा, मंगलबार वीरगंजमा सर्वदलीय बैठक बसेको छ। बैठकले चौधरी पक्राउ प्रकरणमा अनुसन्धानमा अनावश्यक ढिलाइ भएको र उनलाई फसाउन षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी नेताहरूले पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, राजनीतिक दल र जनताको मागप्रति संवेदनशीलता नदेखाइएको आरोप लगाएका थिए। बैठकले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेसन जाने निर्णय पनि गरेको छ।
नेताहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. २ का उम्मेदवार चौधरीलाई फसाउन षड्यन्त्र गरिएको हुन सक्ने भन्दै, घटनाको यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन अदालतमा पेश गर्न माग गर्ने निर्णय गरेका छन्।
बैठकमा नेकपा, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलका जिल्ला प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फागुन १९ गते चौधरीसहित चारजनाको बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु फेला परेको आरोपमा हिरासतमा राखिएको थियो। प्रहरीले निर्वाचन र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान गर्दै तेस्रो पटक चार दिनको म्याद थप गरेको छ।
सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि राजनीतिक दलहरू सक्रिय बनेका छन् र घटनाप्रति ध्यानाकर्षण गराउने रणनीति तय गरेका छन्।