प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा पर्सा जिल्लामा भारतसँग जोडिएका सबै सीमा नाकाहरू बन्द हुने भएको छ भने सार्वजनिक स्थलमा होली र सामाजिक पर्वसँग सम्बन्धित गतिविधिमा कडाइ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी सूचना अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतीय सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
निर्वाचन आयोग, गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा आवतजावत अत्यावश्यक सेवाबाहेक पूर्णरूपमा रोक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, होली तथा सामाचार–चकेवा जस्ता सामाजिक पर्व मनाउने क्रममा सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्याली, हो–हल्ला, मादक पदार्थ सेवन, मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्य निषेध गरिएको छ। निर्वाचन मौन अवधिभर राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन तथा डीजे जस्ता ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।
आदेश उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिँदै प्रशासनले सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

