पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा घरदैलो अभियानलाई तीव्रता दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले बुधबार बिहान जगरनाथपुरमा मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रममा समर्थक र मतदाताले यादवलाई अबीर–टीका र गम्छा लगाएर भव्य स्वागत गरेका थिए। स्वागतपछि स्थानीयले यादवसँगै घरदैलो गर्दै जितका लागि नारासमेत लगाएका थिए।
मतदातासँगको संवादमा पूर्वमन्त्रीसमेत रहेका यादवले विगतका दुई संसदीय कार्यकालमा आफूले गरेको कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह गरे। “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको अवस्था कस्तो थियो? म निर्वाचित भएपछि भएका विकास तपाईंहरूले आफैं देख्नुभएको छ,” उनले भने।
यादवले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र सम्भावनाबारे जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारहरूलाई चुनावी मौसममा मात्र देखिने नेतासँग तुलना गरे। “पाँच वर्षमा एकपटक मत माग्न आउनेहरूले क्षेत्रको दीर्घकालीन विकास गर्न सक्दैनन्। म सधैं जनताको सुख–दुःखमा साथमा रहनेछु,” उनले बताए।
उनले एमालेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धता भएको उल्लेख गरे। गरिबी निवारण, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्दै यादवले मतदातासँग निरन्तर साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।a