सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै किसानलाई बँदेलबाट हुने क्षति नियन्त्रणमा सहजीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो।
सूचनाअनुसार जंगली बँदेलले निजी खेत, खला वा बारीमा प्रवेश गरी बालीनाली तथा धनजनमा क्षति पुर्याएमा तोकिएका सर्तको अधीनमा रही विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा आवश्यक परे मार्न सकिनेछ। यद्यपि सानो जातको बँदेललाई भने यस घोषणाले समेट्दैन।
मन्त्रालयका अनुसार किसानले एक्लै वा सामूहिक रूपमा क्षति पुर्याउने बँदेललाई नियन्त्रण गर्न सक्नेछन्। बँदेल जीवितै पक्रिएमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा डिभिजन वन कार्यालयमा बुझाउनुपर्नेछ।
यदि नियन्त्रणका क्रममा बँदेलको ज्यान गएमा वडाका एक प्रतिनिधि र पाँच स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्नुपर्ने व्यवस्था गरिएको छ। साथै तौलका आधारमा मूल्य निर्धारण गरी उक्त रकम राजस्व खातामा दाखिला गरेर वडाभित्र (व्यापारिक प्रयोजनबाहेक) प्रयोग गर्न सकिने प्रावधान पनि राखिएको छ।
सम्बन्धित सबै विवरण तोकिएको निकायमा जानकारी गराउनुपर्नेछ भने अभिलेख राख्ने जिम्मेवारी पनि सम्बन्धित कार्यालयको हुनेछ। तर, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा वन क्षेत्रभित्र पसेर यस्ता वन्यजन्तु मार्न, पक्रन वा लखेट्न भने कडाइका साथ निषेध गरिएको छ।
यसअघि सरकारले रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको छ।