आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ। जिल्ला सुरक्षा समितिले हालसम्म १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षण सम्पन्न गरिसकेको छ भने बाँकी दुई मतदानस्थलको निरीक्षण छिट्टै सकिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयको टोलीले संयुक्त रूपमा मतदानस्थलहरूको स्थलगत निरीक्षण गरिरहेको छ। प्रजिअ दाहालले हालसम्मको अनुगमनका आधारमा आवश्यक शान्ति तथा सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए।
“हामीले १६५ मतदानस्थलको निरीक्षण गरिसकेका छौँ, बाँकी दुई पनि चाँडै अनुगमन गर्नेछौँ,” उनले भने, “भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि सबै निकायले समन्वय गरेर अघि बढ्नुपर्छ।”
जिल्लामा कुल १६७ मतदानस्थल तोकिएकामध्ये ६२ लाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशीलको सूचीमा राखिएको छ।
निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल रहेका छन्। जिल्लाभर ४४१ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
क्षेत्र नं. १ मा १०३, क्षेत्र नं. २ मा ११० तथा क्षेत्र नं. ३ र ४ मा समान ११४–११४ मतदान केन्द्र कायम गरिएको छ।
पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा जिल्लामा सुरक्षा संयन्त्रको सक्रियता बढेको छ भने प्रशासनले शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।