वीरगञ्जमा दुई फरक धार्मिक समुदायबीचको विषयलाई लिएर आइतबारदेखि उत्पन्न तनावलाई साम्य पार्न तीन बुँदे निर्णय गरिएको छ।
सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय पर्सामा सद्भाव समितिको अग्रसरतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा तथा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधिहरू सहभागी थिए।
वीरगञ्ज–११ श्रीपुरमा आइतबार साँझ भएको घटना र त्यसपछि विकसित घटनाक्रमका दोषीहरूलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार पीडित पक्षबाट जाहेरी लिएर आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाइनेछ। दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने सहमति भएको उनले बताए।
बैठकमा व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने वा हेट स्पीच प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी आगामी दिनमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरिएको छ।
बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेशराज सुबेदी, सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्री, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायत राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सद्भाव समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
यस्ताे छ निर्णयः

