जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रका तोकिएका चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने जनाइएको छ। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ।
यद्यपि अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा कर्मचारी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन र वैध हवाई टिकट भएका यात्रुको आवागमनमा सुरक्षा निकायबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
