पर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–५ हर्दियामा बिहीबार आयोजित कार्यक्रममा ६० भन्दा बढी नेता, कार्यकर्ता र स्थानीय युवा विभिन्न राजनीतिक दल त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार सुशील कुमार कानु ले फूलमाला र गम्छा लगाएर नयाँ सदस्यलाई औपचारिक रूपमा रास्वपामा स्वागत गरे। कानुले प्रवेश गर्नेहरूले देशमा परिवर्तन, सुशासन, भ्रष्टाचारमुक्त समाज र समान अधिकार सुनिश्चित गर्ने क्षमता रास्वपासँग मात्र भएको कारण आफूहरू रास्वपामा आएको बताएका छन्।
उनीहरूले भने, “अबको वैकल्पिक शक्ति भनेको रास्वपा नै हो, जसले वास्तविक देश हितमा काम गर्छ।”
कार्यक्रममा कानुले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै पर्सा जिल्लामा युवाहरूका लागि रोजगारी सिर्जना, स्थानीय उद्यमीहरूको प्रोत्साहन, उद्योग–कलकारखानाको उत्पादन क्षमता वृद्धि र पर्सागढीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कानुले यस क्षेत्रका पछिल्ला निर्वाचित सांसदहरूले विकासका लागि कुनै ठोस काम नगरेको आरोप लगाउँदै भने, “म निर्वाचित भएँ भने स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, बजार व्यवस्थापन र कृषिमा आधुनिकीकरण जस्ता मुद्दालाई प्राथमिकता दिनेछु।” उनले रास्वपालाई देशको कायापलट गर्ने एकमात्र शक्ति भएको दाबी गर्दै स्थानीय मतदातालाई घण्टी छापमा मतदान गरेर प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरे।
कानुले बालेनलाई मधेसको धर्ती पुत्रको रूपमा चित्रण गर्दै भने, “मधेसीलाई प्रधानमन्त्री बनेको देख्न चाहनुहुन्छ भने घण्टी छापमा मतदान गर्नुहोस् र रास्वपाका सबै उम्मेदवारलाई विजयी बनाउनुहोस्।”
उहाँले थप स्पष्ट गरे, “एक पटक मौका दिनुस्, काम गर्न सकेनौं भने अर्को पटक मत माग्न आउँदैनौं।”