वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर र वडा नं. १४ बहुवरीमा नेकपा एमालेका नेता प्रदीप यादवले घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन् । दुवै वडामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा नेता यादवले घर–घरमा पुगेर स्थानीयका समस्या, सुझाव र अपेक्षाहरू प्रत्यक्ष सुनेका थिए । जनताको सुख–दुःख नजिकबाट बुझ्ने अवसर पाउँदा आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको उनले जिकिर गरे ।
उनले स्पष्ट शब्दमा भने, “यो चुनाव जित्ने अभियान मात्र होइन, वडा परिवर्तन गर्ने संकल्प हो।” जनताको माया, विश्वास र सहभागिताले आगामी दिनमा विकासलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दृढता मिलेको उनको भनाइ थियो।
वडागत विकासका प्राथमिकता
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले दुवै वडाको समग्र विकासका लागि आफ्ना मुख्य एजेन्डा सार्वजनिक गरे । उनका अनुसार पारदर्शिता र सुशासन कायम गर्दै प्रशासनिक कार्यलाई चुस्त, पारदर्शी र जवाफदेही बनाइनेछ।
त्यसैगरी गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गरिने, सडक तथा अन्य भौतिक पूर्वाधारको स्तरोन्नति गरिने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरिने प्रतिबद्धता जनाए ।
वडा नं. ११ श्रीपुरमा समग्र भौतिक तथा सामाजिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उनले बताए भने वडा नं. १४ बहुवरीमा व्यवस्थित सडक सञ्जाल, जनसेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त प्रशासनिक अभ्यासलाई जोड दिइने उल्लेख गरे ।
नेता यादवले समृद्ध र व्यवस्थित वडा निर्माणका लागि स्थानीयवासीको साथ, सहयोग र रचनात्मक सुझाव अपरिहार्य रहेको बताउँदै सबैप्रति आभार व्यक्त गरे।