फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने कानुनी व्यवस्था अनुरूप आजदेखि प्रचार अभियान सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्नेछन्। सो अवधिमा आचारसंहिताको पूर्ण पालना गर्दै मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाइने व्यवस्था छ।
दल र उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशन/प्रसारण गर्न सक्नेछन्। आमसभा तथा कोणसभा आयोजना गर्दा मञ्च निर्माणलगायतका खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित दल वा उम्मेदवारलाई पत्र काटेर स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ।
आयोगले राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक छलफलपछि आचारसंहिता तर्जुमा गरिएको स्मरण गराउँदै सबै दलले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछ। उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउने, दण्डजरिवाना गर्ने वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए।
निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचन प्रक्रियालाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट फैलाइने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति कडाइका साथ निषेध गरिएको आयोगले उल्लेख गरेको छ।