नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा भव्य रूपमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। शनिबार बिहानै नगवा पुगेका उम्मेदवार यादवलाई स्थानीय मतदाताहरूले भव्य स्वागत गरेका थिए।
घरदैलोका क्रममा मतदाताहरूसँग कुराकानी गर्दै उम्मेदवार यादवले नगवावासीबाट आफूले अपार माया र समर्थन प्राप्त गरेको बताए। उनले जनचाहनाअनुसार आफू सदैव जनताको सेवामा सक्रिय रहेकाले यस पटक पनि नगवाका आम मतदाताले आफूलाई जिताउनेमा पूर्ण विश्वास व्यक्त गरे।
घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै यादवले नगवाको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याए। उनले भने, "विगतमा पनि हामीले नगवाको विकासका लागि धेरै काम गरेका छौँ। आगामी दिनमा शिक्षा, स्वास्थ्य र खासगरी युवाहरूका लागि रोजगारी सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ।"
सम्बोधनका क्रममा उनले युवा शक्तिलाई विशेष आग्रह गर्दै भने, "यदि युवाहरूलाई कुनै समस्या वा असन्तुष्टि छ भने मलाई सिधै फोन वा सन्देश गर्न सक्नुहुन्छ। म तपाईँहरूको सुख-दुःखमा सधैँ साथै रहनेछु।"
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, नेताहरू सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुसाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागी नेताहरूले विपक्षीहरूले फैलाएको नकारात्मक भ्रमलाई चिर्दै अहिले सम्पूर्ण नगवावासी एकजुट भएर प्रदीप यादवको पक्षमा उभिएको दाबी गरे। घरदैलो कार्यक्रममा देखिएको मतदाताहरूको उत्साहले निर्वाचनमा यादवको पक्षमा बलियो नतिजा आउने संकेत गरेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ।