फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा देशैभर चुनावी माहोल तातेको छ । देशको आर्थिक राजधानी मानिएको वीरगञ्जमा यसको सरगर्मी बढेको छ । पर्साको क्षेत्र नम्बर–१ म यस पटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने आँकलन गरिएको छ ।
यसअघि लगातार २ पटक जीतको झण्डा गाडेका प्रदीप यादव तेस्रो पटक पनि परिणाम आफ्नो पोल्टामा पार्ने दाउमा छन् भने नेपाली कांग्रेसका अनिलकुमार रुँगटा विगत चुनावमा प्रदीपसँगको पराजयको बदला लिने तयारीमा छन् । २०७४ सालको चुनावमा मधेशी जनअधिकार फोरमबाट जितेका प्रदीप २०७९ मा जसपा नेपालबाट चुनिएका थिए । २०७४ मा प्रदीपले अनिललाई हराएका थिए भने २०७९ मा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका अजयकुमार द्विवेदी पराजित भएका थिए ।
तर, मन्त्री बन्न जसपा फुटाएका प्रदीप पुनः जसपामै जोडिए पनि टिकट नपाएपछि यस पटक एमाले छिरेर उम्मेदवार बने । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ हजार १३२ मतका साथ उनी विजयी भएका थिए । त्यसबेला नेपाली कांग्रेसका रुंगाटालाई ४ हजार ६५१ मत अन्तरले हराएका उनी २०७९ को निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका द्विवेदीलाई १ हजार ६२० मतान्तरले हराउँदै निर्वाचित भएका थिए । द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए । प्रदीपको २२ हजार ५३७ मत थियो ।
एमालेको भोट र पकेट भोटको योगमा चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउ उनको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा पर्सा क्षेत्र नं १ मा जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ११ हजार १५४ मतसहित पहिलो पार्टी बनेको थियो । नेकपा एमालेको ६ हजार ३१५ मत थियो ।
२०७४ सालदेखि जित हासिल गर्दै आएको जसपाले यस पटक रामनरेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ । विगत चुनावमा समानुपातिकमा सबैभन्दा ठूलो दल बनेको र टिकटका लागि दल अदलबदल गरेको भन्दै प्रदीप आलोचित भएको भन्दै यही मौका छोपेर जीत निकाल्ने दाउ रामनरेशको छ ।
२०७९ मा प्रदीपको निकटतम प्रतिद्धन्दी बनेका अजयकुमार द्विवेदीलाई आफ्नो साथमा लिएका अनिलकुमार रुँगटा यस पटक जसरी पनि जित्ने योजनामा छन् । टुटफुटका कारण मधेशवादी दल कमजोर भएको र विगतमा चुनाव जितेका प्रदीप तुलनात्मक कमजोर दलबाट उम्मेदवार बनेको मौकामा चौका होइन, छक्का नै मार्ने दाउ उनको देखिन्छ ।
तर, होटल व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका हरि पन्त पुराना दलप्रतिको असन्तुष्टिमा खेलेर यस पटक प्रतिनिधिसभामा पुग्ने दाउमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी मतदाताको परिवर्तनको चाहना नै आफ्नो जीतको आधार भएको दाबी गर्छन् । रास्वपाले बालेन साहलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर मधेशमा तराई मधेशमा उतार्नु र जेन–जी विद्रोहपछिको परिवर्तनको चाहनाले आफ्नो जीत निश्चित भइसकेको उनले बताउने गरेका छन् ।
पर्सा १ बाट ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । यो पटक पर्सा क्षेत्र नम्बर–१ मा नयाँ अनुहार पनि देखिएका छन् । पर्साको क्षेत्र नम्बर–१ मा १८ उम्मेदवार विभिन्न पार्टीबाट प्रतिनिधित्व छन् भने १२ स्वतन्त्र उम्मेदवार छन् । राष्ट्रि प्रजातन्त्र पार्टीबाट नन्द किशोर प्रसाद श्रीवास्ताव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह (पराग), नेपाल मजदुर किसान पार्टीबाट प्रमोदप्रसाद पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट शालिकरामप्रसाद कानु, नेपाल जनता पार्टीबाट सुरेश प्रसाद साह कानुलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिकाका वडा नं. २, ४, ५, ७, ८, ११ देखि १६, १८, २० देखि २३ तथा ३० देखि ३२ पर्दछन् । यस पटकको निर्वाचनमा पार्टीको प्रभाव बलियो देखिने हो वा व्यक्तिको लोकप्रियता निर्णायक बन्ने हो भन्ने चासो बढेको छ । साथै, जेन–जी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक परिवेशले नयाँ अनुहारलाई अवसर दिने वा नदिने भन्ने विषय पनि अर्थपूर्ण बनेको छ ।