खुट्टामा चोट लागेका कारण घरमै स्वास्थ्य लाभ गरिरहेका नेपाली काँग्रेसका पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाले आफ्नो चुनावी सक्रियता बढाएका छन्। नेता चौरसियाले पछिल्ला केही दिनयता वीरगञ्ज–११, श्रीपुरस्थित आफ्नै निवासमा कांग्रेसका अगुवा कार्यकर्ताहरूसँग निरन्तर भेटघाट तथा छलफल गर्दै आएका छन्।
यसैक्रममा शुक्रबार बिहान चौरसियाले पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाका वडा नम्बर १, २ र ३ का कांग्रेस नेता तथा अगुवा कार्यकर्ताहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल गरेका छन्।
छलफलमा पर्सागढी नगरपालिका वडा नम्बर–१ का नेपाली काँग्रेस बुथ सभापति ढोडा दास थारु, वडा नम्बर–२ का बुथ सभापति रामचन्द्र महतो दामस थारु, वडा नम्बर–३ का वडा अध्यक्ष सुकमान तामाङ, कमल महतो, तुल्ला दास चौधरी, घनश्याम चौधरी, वीरेन्द्र महतो, स्वर्साङ पाख्रिन, लालबाबु चौधरी, सुन्दर मैनाली, जुन माया बललगायतको उपस्थिति रहेको थियो।
भेटघाट तथा छलफलमा पार्टीको चुनावी रणनीति, संगठन सुदृढीकरण, वडास्तरदेखि क्षेत्रीय तहसम्म संगठनलाई कसरी मजबुत बनाउने, मतदातासँगको सम्बन्ध विस्तार, विगतका निर्वाचनमा देखिएका कमजोरी तथा त्यसको सुधारका उपायका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।
छलफलका क्रममा अगुवा कार्यकर्ताहरूले आ–आफ्नो वडाको राजनीतिक अवस्था, जनताका समस्या, संगठनको वर्तमान स्थिति र आगामी निर्वाचनमा देखिन सक्ने चुनौतीबारे सुझाव प्रस्तुत गरेका थिए। चौरसियाले ती सुझावलाई मनन गर्दै पार्टीलाई जनताको भरोसायोग्य बनाउनेतर्फ सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
उनले भने, “आगामी निर्वाचन केवल जित–हारको विषय मात्र होइन, जनताको विश्वास पुनः जित्ने अवसर पनि हो। त्यसका लागि संगठन मजबुत, कार्यकर्तामा आत्मविश्वास र जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक छ।”
स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जनाउँदै चौरसियाले आउँदो शनिबारदेखि क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर घरदैलो अभियान सुरु गर्ने जानकारी दिए। घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट, जनताका गुनासा तथा सुझाव संकलन, पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने र आगामी निर्वाचनका लागि जनसमर्थन जुटाउने उनले बताए।
स्वास्थ्य लाभकै अवस्थामा रहेर पनि निरन्तर छलफल, परामर्श र कार्ययोजनामा केन्द्रित गतिविधि अघि बढाइरहेका चौरसियाको सक्रियताले पर्सा क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसको चुनावी तयारीलाई थप गति दिएको छ।