काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज दिने भनिएको राजीनामा तत्कालका लागि रोकेका छन्। उनी निकट स्रोतका अनुसार आजै उपमेयरलाई राजीनामा बुझाउने तयारी भए पनि अन्तिम समयमा आएर उक्त निर्णय परिवर्तन गरिएको हो।
मेयर शाहले राजनीतिक अनिश्चितताका कारण राजीनामा 'होल्ड' गरेको उनी निकट एक नेताले बताए। "अहिले नै राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भन्न खोजिएको होइन, तर कांग्रेस अदालत गएको र निर्वाचन सर्ने वा अन्य कुनै कानुनी बाधा उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्काललाई रोकिएको हो," ती नेताले स्पष्ट पारे। निर्वाचन आयोगको नियम अनुसार उम्मेदवारी दर्ता भएपछि बहालवाला पद स्वतः खारेज हुने प्रावधानलाई समेत उनले आधार बनाएका छन्।
पार्टी कार्यालयमा भिड, दिउँसो २ बजे बैठक मेयर पदबाट राजीनामा नदिई नै बालेन शाह आज दिउँसो १ बजे रास्वपाको केन्द्रीय कार्यालय 'घण्टीघर' पुग्ने कार्यक्रम छ। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा रहेका शाह सहभागी हुने गरी दिउँसो २ बजे बनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक बस्दैछ। उक्त बैठकले आगामी माघ ६ गते हुने मनोनयन दर्ताका लागि पार्टीका उम्मेदवारहरूको अन्तिम टुंगो लगाउनेछ।
अहिले रास्वपा कार्यालयमा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य भिड लागेको छ। उम्मेदवारहरूको नाम सिफारिस र चुनावी रणनीतिका विषयमा पार्टीभित्र घनिभूत छलफल भइरहेको बुझिएको छ।
जनकपुर प्रस्थानको कार्यक्रम यथावत् राजीनामा प्रक्रिया रोकिए पनि मेयर शाहको राजनीतिक दौडाहा भने नरोकिने भएको छ। पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आजै जनकपुर प्रस्थान गर्ने तयारीमा छन्। बालेन शाह पनि आज साँझ ५ बजे जनकपुर जाने कार्यक्रम तय भएको छ। भोलि जनकपुरमा हुने विस्तारित भेला र महोत्तरीस्थित आफ्नो पुर्ख्यौली घर जाने कार्यक्रमलाई उनले निरन्तरता दिनेछन्।
काठमाडौँको मेयर पदमा कायम रहेकै अवस्थामा रास्वपाको वरिष्ठ नेताका रूपमा चुनावी मैदानमा होमिन लागेका बालेनको यो कदमलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।