राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा वरिष्ठ नेताका रूपमा प्रवेश गरेका बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएलगत्तै मधेस जाने तयारीमा छन्।
बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने तय भएको छ। त्यसको भोलिपल्ट माघ ५ गते रास्वपा सभापति रवि लामिछानेसहित बालेन जनकपुर जाने कार्यक्रम तय भएको रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवले जानकारी दिए।
उनका अनुसार सो दिन रास्वपा मधेस प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला आयोजना गर्दैछ। भेलामा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, साथै आठवटै जिल्ला समितिका सभापतिहरूलाई सहभागी गराइनेछ।
‘प्रदेशको संगठनात्मक अवस्था, आठ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा पार्टीको स्थिति र आगामी रणनीतिबारे छलफल गर्ने कार्यसूची तय गरेका छौं,’ यादवले बताए, ‘भर्खरै पार्टीमा आउनुभएका बालेन शाहको सोच र योजना सुन्नेछौं भने सभापति रवि लामिछानेको निर्देशन पनि लिनेछौं।’
रास्वपाका प्रवक्ता मनिष झाले पनि बालेन शाह जनकपुर जाने कार्यक्रमको तयारी भइरहेको पुष्टि गरेका छन्।
मधेस भ्रमणका क्रममा बालेन शाह महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर जाने कार्यक्रम पनि रहेको यादवले बताए। महोत्तरी निर्वाचन क्षेत्र–३ अन्तर्गत पर्ने उक्त घरमा हाल परिवार बसोबास नगरेको र गाउँपालिकाले प्रशासकीय भवनका रूपमा प्रयोग गरिरहेको छ।
पुर्ख्यौली क्षेत्रमा पुगेमा स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने सानो कार्यक्रमको तयारी भइरहेको यादवले जानकारी दिए। ‘मधेस आएपछि उहाँले सबै अवस्था बुझ्ने तयारी गर्नुभएको छ। कहाँबाट उम्मेदवारी दिने भन्ने कुरा अहिलेसम्म खुलाउनुभएको छैन। तर हामी उहाँलाई मधेसबाटै उम्मेदवार बनेको देख्न चाहन्छौं,’ यादवले भने।
यसैबीच जनकपुरमै शीर्ष नेताहरूको सम्बोधनसहित सभा आयोजना गर्ने तयारी पनि भइरहेको छ। सबैसँग छुट्टाछुट्टै भेटघाट सम्भव नभएकाले संयुक्त कार्यक्रममार्फत बालेनसहित रास्वपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने योजना बनाइएको छ।
यद्यपि बालेन शाहले केही भेटघाटका क्रममा आफू झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको संकेत दिएको बताइएको छ।