काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका बालेनले उम्मेदवारी दर्ता हुनुअघि नै मेयर पद छोड्न लागेका हुन्।
बालेनको सचिवालयका एक सदस्यका अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दुई दिनअघि उनले राजीनामा दिने योजना बनाएका छन्। निर्वाचन आयोगको कार्यतालिकाअनुसार मनोनयन दर्ता माघ ६ गते तोकिएको छ।
रास्वपाले बालेनलाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेको छ। यससँगै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सीधै चुनौती दिने तयारी थालेका छन्। बालेन झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेको र यस विषयमा आइतबार झापाका नेताहरूसँग करिब डेढ घन्टा छलफल भएको सचिवालयले जनाएको छ।
ललितपुर–१० ज्वागलस्थित सचिवालय सदस्य कुमार बेनको निवासमा भएको छलफलमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोली सहभागी थियो। अध्यक्ष पाठकका अनुसार उक्त भेटघाटमा मेयर बालेनले झापा–५ बाट चुनाव लड्ने निर्णयमा आफू पुगिसकेको बताएका थिए।
बालेनले झापा–५ को राजनीतिक अवस्था, विकास–निर्माणको स्थिति तथा पुराना दलहरूको पकडबारे आफ्नो टिमले प्रारम्भिक सर्वेक्षण गरिसकेको जानकारीसमेत दिएका छन्। झापा–५ नेकपा एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र हो, जहाँबाट उनी लगातार निर्वाचित हुँदै आएका छन्। यद्यपि, २०६४ सालमा भने ओली तत्कालीन माओवादी उम्मेदवारसँग पराजित भएका थिए।
यसैबीच, बालेनले आइतबारै थरूहट आन्दोलनका अगुवा लक्ष्मण थारू, सुरेन्द्र चौधरीलगायतसँग पनि भेटवार्ता गरेको सचिवालय स्रोतले जनाएको छ। राजनीतिक सरगर्मी चुलिँदै जाँदा बालेनको राजीनामा र झापा–५ बाटको सम्भावित उम्मेदवारीले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।