दुई समुदायबीच उत्पन्न धार्मिक विवादले तनावग्रस्त बनेको वीरगञ्ज सर्वदलीय सहमतिपछि शान्ति र समाधानको दिशातर्फ अघि बढेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा करिब पाँच घण्टा चलेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै विवाद अन्त्य गर्ने सहमति गरेको हो।
बैठकपछि आज दिउँसो ४ बजे वीरगञ्जमा वृहत् सद्भाव र्याली निकाल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आपसी समझदारी, सहकार्य र संवादमार्फत शान्ति–सुव्यवस्था कायम गर्ने उद्देश्यले सहमति गरिएको हो।
सहमति अनुसार अब अन्य मुलुक वा स्थानमा घटेका घटनालाई आधार बनाएर वीरगञ्जमा कुनै पनि प्रकारको विरोध प्रदर्शन नगर्ने निर्णय गरिएको छ। असहमति भए पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्र ज्ञापनपत्र बुझाउने र त्यसपछि कुनै कार्यक्रम तय गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, स्थायी सद्भाव संयन्त्र गठन गरी निरन्तर संवाद कायम राख्ने तथा सोही संयन्त्रको पहलमा आज दिउँसो ४ बजे सद्भाव र्याली आयोजना गर्ने निर्णय भएको छ।
बैठकले सञ्चार माध्यमलाई धार्मिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, सहभागी सबै पक्षले आ–आफ्ना समुदायका सदस्यलाई अनुशासनमा राख्ने प्रतिबद्धता जनाएका छन्।
प्रशासनका अनुसार सहमतिपछि वीरगञ्जको अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।
उल्लेखनीय छ, गत सोमबार हिन्दुवादी संगठनहरूले देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै प्रदर्शन थालेपछि वीरगञ्ज तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले सोमबार साँझ ६ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो, जुन हाल आज साँझ ६ बजेसम्म लागू छ।