वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले धार्मिक द्वन्द्व चर्किएपछि मात्र र्याली, बैठक वा औपचारिक आत्मसन्तुष्टि लिने प्रवृत्ति रोकिनुपर्ने र शान्ति–सद्भाव कायम गर्न प्रशासनले कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
सार्वजनिक अपीलमा मेयर सिंहले प्रश्न उठाएका छन् कि वीरगन्ज बाहिर उत्पन्न विवादलाई यहाँ जबर्जस्ती थोपरेर शहर अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने व्यक्तिहरूलाई प्रशासनले किन कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको हो।
सिंहले भनेका छन् कि सदियौंदेखि जोगिँदै आएको भाईचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउने प्रयास गर्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन।
उनले शान्ति–सुरक्षा कायम गर्नु राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै, समाजका अगुवा र सरोकारवालाको भूमिका सहजिकरण र सहकार्यमा सीमित रहनु आवश्यक रहेको बताए। सिंहले भने, “वीरगन्ज कुनै व्यक्तिको, कुनै समूहको वा कुनै एजेन्डाको बन्धक होइन—यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो। यसलाई भड्काउन खोज्ने जो–कोहीमाथि निष्पक्ष कानुनी कारबाही हुनु न्याय र दीर्घकालीन समाधानको एकमात्र आधार हो।”
सार्वजनिक अपीलमा मेयर सिंहले जोड दिए कि धर्म भावनासँग जोडिएको विषय हो, कसैले कसैको भावनासँग खेल्न पाउँदैन, र जो भावना भड्काएर समाज बिथोल्न खोज्छ उसलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन। उनले सबै नागरिकलाई आपसी सद्भाव र भाईचारा अझ सुदृढ गर्दै शान्त, समुन्नत र “वैभव वीरगन्ज” तर्फ एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।