मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको मार्ग रोज्न सबैलाई आग्रह गरेका छन्।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र बन्दै गएपछि मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै शान्ति र संयमता अपनाउन अपिल गरेका हुन्।
सन्देशमा उनले मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको उल्लेख गर्दै “मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन” भनेका छन्। पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सम्पूर्ण समाजलाई मर्माहत बनाएको पनि उनले उल्लेख गरेका छन्।
हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै मुख्यमन्त्री यादवले धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन्। “हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई आहत पुर्याउँछ,” उनको भनाइ छ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले शान्ति–सुरक्षाको अवस्था थप मजबुत बनाइने बताएका छन्। साथै, कुनै पनि किसिमका अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने भन्दै नागरिकलाई जिम्मेवार र संयमित बन्न आग्रह गरेका छन्।