सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो पाँच महिनामा १३ करोड ६२ लाख ७२ हजार ६९५ रुपैयाँ बराबरको अवैध चोरी–तस्करीका सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
गणका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा १२ महिनाको अवधिमा १४ करोड ९९ लाख ५ हजार ५२८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो भने आर्थिक वर्ष २०८१–०८२ मा यो रकम बढेर २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामै करिब १४ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद भइसकेकाले आगामी महिनामा यो रकम अझै बढ्ने अनुमान गरिएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्र प्रहरीले ८ करोड ५९ लाख ७२ हजार ७५० रुपैयाँ बराबरको अवैध सामान अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः १९ करोड २६ लाख १४ हजार ९८४ रुपैयाँ र ११ करोड ९९ लाख ४७ हजार १७८ रुपैयाँ बराबरको अवैध सामान अनुसन्धानका लागि बुझाइएको थियो ।
पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको १०७ किलोमिटर क्षेत्रमा चौबीसै घण्टा कडा निगरानी बढाइएपछि चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता मिलेको सशस्त्र प्रहरीले जनाएको छ । यसको प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजश्व संकलनमा पनि देखिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी र २०८१–०८२ मा १ खर्ब ७५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन भइसकेको छ ।
अवैध चोरी–तस्करी नियन्त्रणसँगै सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले आन्तरिक शान्ति सुरक्षामा पनि सक्रिय भूमिका खेलेको छ । हालै कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ भने ३५० केजी गाँजा, ३०.९८ केजी चरेश र ठूलो परिमाणमा मनोदिपक लागूऔषध बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ ।