मधेस प्रदेशको धनुषा जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सियाहीमा रहेको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नयाँ भवन भारतको वीरगन्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

यो विद्यालय भवन तथा सहायक पूर्वाधारहरू उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो ।
बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एक मानिन्छ । यस विद्यालयमा प्रारम्भिक बालविकास ९ईसीडी० देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० सँग आबद्ध रहेको छ र यहाँ १८ महिनाको कम्प्युटर विषयको प्रि–डिप्लोमा कोर्स सञ्चालन भइरहेको छ ।
हाल विद्यालयमा करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्, जसमा करिब ६० प्रतिशत छात्रा रहेका छन् ।
उद्घाटन कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले शिक्षा क्षेत्रको विकासका लागि भारत सरकारले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले नयाँ भौतिक संरचनाले सिकाइ वातावरण सुधार गर्न र क्षेत्रको शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
छिमेकी मुलुक भारत र नेपालबीच बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्य जारी रहँदै आएको उल्लेख गर्दै, यस्ता परियोजनामार्फत भारत सरकारले नेपाल सरकारको विकास र पूर्वाधार सुदृढीकरण प्रयासमा निरन्तर साथ दिँदै आएको बताइएको छ ।