नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। बिहीबार भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको अन्तिम मतपरिणाम अनुसार ओलीले १,६६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्।
ओली ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी बहन गर्दै आएका छन्। उनले २०७८ सालको १०औँ महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्न चाहँदा पूर्वउपाध्यक्ष डा. भीम रावलको उम्मेदवारीका कारण मतदान प्रक्रियामा जानुपरेको थियो। त्यस महाधिवेशनमा ओलीले १,८३७ मत प्राप्त गरेका थिए।
२००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका ओली साधारण पारिवारिक पृष्ठभूमिका हुन्। सानै उमेरमा आमालाई गुमाएका उनले हजुरआमा राममाया ओलीको छत्रछायामा हुर्किनुभयो। एसएलसीसम्म अध्ययन गरेका ओली नेपाली राजनीतिमा प्रखर वक्ता र कुशल रणनीतिज्ञको रूपमा परिचित छन्।
राजनीतिक यात्रामा ओली १७ वर्षको उमेरमा वामपन्थी आन्दोलनमा सहभागी भएर १४ वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए। जेलबाट रिहा भएपछि उनी तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने। पछि निरन्तर पार्टीको जिम्मेवारी बहन गर्दै आएका उनले प्रधानमन्त्रीका रूपमा चारपटक कार्यभार सम्हालेका छन्।
ओलीले विदेश यात्रा मार्फत नेपाल र पार्टीको प्रतिनिधित्व गर्दै दुई दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेका छन्। पछिल्लो समयमा चीन, भारत, बंगलादेश, श्रीलंका, अमेरिका, युरोप र अन्य राष्ट्रमा औपचारिक भ्रमण र शिखर सम्मेलनमा सहभागिता जनाइसकेका छन्।
उनको राजनीतिक जीवन झापा विद्रोह, प्रतिनिधि सभा, मन्त्रिपरिषद् र संविधान सभामा सक्रिय भूमिका तथा पार्टी नेतृत्वमा पकडले चिनिन्छ। ओलीको लगातार अध्यक्ष पदमा निर्वाचित हुनुले एमालेमा उनको सशक्त नेतृत्व कायम भएको पुष्टि गरेको छ।