डा. महमद अनिष अहमद युरो सर्जन हुन् । उनले पाकिस्ताबाट एमबीबीएस र इन्भरसिटी हेल्थ साइन्स लाहोरबाट युरोलोजीमा एमडी गरेका छन् । नेशनल मेडिकल कलेज र रतन पोलिक्लिनिकमा सेवारत डा. महमद अनिष अहमदसँग मध्य नेपालले गरेको कुराकानी:
पिसाबको इन्फेक्सन कसरी हुन्छ ?
माइक्रो अर्गानिजम ब्याक्टेरियाले शरीरको बाहिरी भागबाट गएर पिसाबको नली हुँदै पिसाबको थैली र मृगौलासम्म पुगेर इन्फेक्सन गराउँछ । कुनै पनि ब्याक्टेरिया शरीरको अन्य भागबाट (फोक्सो, रगतबाट) आएर पनि इन्फेक्सन गराउँछ । मुख्य इन्फेक्सन हुने ब्याक्टेरिया बाहिरको छालाबाट पिसाबको नली हुँदै पिसाबको थैली र नलीमा इन्फेक्सन गराउँछ । इन्फेक्सन भइसकेपछि बिरामीलाई छिटोछिटो पिसाब लाग्छ ।
इन्फेक्सनबाट कसरी बच्न सकिन्छ ?
शरीरको बाहिरबाट आएर पिसाबको नलीमा जाने ब्याक्टेरियालाई पिसाबको नलीभित्र प्रवेश गर्न रोक्नु पर्छ । मानिसको गुप्ताङ्ग सफा राख्नु पर्छ । मानिसको मलद्वारबाट ब्याक्टेरिया आएर पिसाबको नलीमा गएर इन्फेक्सन गराउने भएकोले पिसाब फेर्दा, नुहाउँदा मलद्वार र पिसाब फेर्ने ठाउँ साबुन पानीले सफा गर्नु पर्छ । अन्डरवयरलाई राम्रोसँग धोएर, घाममा सुकाएरमात्र प्रयोग गर्नु पर्छ । मानिसकोे छालामा पहिलादेखि नै केही ब्याक्टेरियाहरू हुन्छन् । उपयुक्त वातावरण पाएमा ति ब्याक्टेरियाहरूले इन्फेक्सन गराउँछ । मानिसको गुप्ताङ्गमा पसिनाहरू आएर गन्हाउने हुन्छ । दैनिक नुहाउने, अन्डरवयरलाई सफा गरेर र घाममा सुकाएरमात्र लगाउँदा इन्फेक्सन हुनबाट बच्न सकिन्छ ।
इन्फेक्सन महिला र पुरुषमा कुनमा बढी हुने गरेको पाइन्छ ?
इन्फेक्सन पुरुषको तुलनामा महिलाहरूलाई धेरै सजिलै हुन्छ । महिलाको शारीरिक बनोटको कारणले गर्दा नै छिटो संक्रमण हुन्छ । महिलाको पिसाबको नली छोटो हुन्छ । पिसाबको नली र पिसाबको थैली बीचको दुरी पनि नजिक हुन्छ । ब्याक्टेरियाहरू सजिलै पिसाबको थैलीसम्म जान सक्छन् । पुरुषको पिसाबको नलीदेखि पिसाबको थैलीसम्मको दुरी लामो र नलीको बाटो पनि अप्ट्यारो हुन्छ । जसले गर्दा पुरुषमा इन्फेक्सन ढिलो हुन्छ ।
महिलाहरूले इन्फेक्सनबाट बच्न कस्ता उपाय अपनाउनु पर्छ ?
ब्याक्टेरियल इन्फेक्सनबाट बच्न महिलाहरूले सरसफाईमा विशेष ध्यान दिनु पर्छ । अन्डरवेयरलाई धोएर घाममा सुकाएर त्यसमा भएका ब्याक्टेरियाहरू मारेर लगाएमा इन्फेक्सन हुनबाट बच्न सकिन्छ । हरेक महिना महिनावारी हुँदा प्रयोग गर्ने प्याड र साधनहरूलाई सरसफाई गरेर राख्नु पर्छ । विवाहित दम्पत्तिहरूले शारीरिक सम्बन्ध राख्नुअगाडि दुबैले आफ्नो गोप्य अङ्गहरूको सरसफाई गर्नु पर्छ । यसो गर्दा महिला र पुरुषको छालामा भएका इन्फेक्सनहरू एक अर्कामा सर्दैन ।
इन्फेक्सन शरीरको कुनकुन भागमा हुन सक्छ ?
मुत्ररोगहरू मध्येमा सबैभन्दा बढी इन्फेक्सन हुने र ब्याक्टेरियाले आक्रमण गर्ने पिसाबको नली हो । पिसाबको नलीको मुखबाट ब्याक्टेरियाहरू भित्र पस्छ । पिसाबनलीको मुख हुँदै पिसाबथैलीसम्म जान्छ । पिसाबथैलीको इन्फेक्सनको समयमा उपचार हुन सकेन भने मृगौलासम्म ब्याक्टेरिया जान्छ । र, मृगौलामा इन्फेक्सन हुन्छ । मृगौलामा इन्फेक्सन हुँदा पनि उपचार भएन भने रगतको माध्यामबाट शरीरभरि नै इन्फेक्सन फैलिन्छ । यो अवस्था स्वास्थ्यको लागि खतरनाक अवस्था हो ।
इन्फेक्सन हुदाँ कस्ता लक्षणहरू देखिन्छन् ?
इन्फेक्सन हुदाँ पिसाब पोल्ने र छिनछिनमा पिसाब लाग्ने हुन्छ । पिसाब गरिसकेपछि पनि सन्तुष्टि हँुदैन । पिसाब गर्ने बेलामा पिसाब गर्नुअघि वा पछि तल्लो पेट दुख्ने हुन्छ । हल्का जीउ दुख्ने, पिसाब गन्हाउने र ज्वरो आउन सक्छ । रगत शरीरभरि नै हिँड्ने भएकोले रगतबाट पनि छिटो इन्फेक्सन फैलिन्छ ।
इन्फेक्सनको उपचार कुन अवस्थामा गर्न उपयुक्त हुन्छ ?
सबैभन्दा पहिला मानिसले जीवनशैलीमा परिवर्तन गर्नु पर्दछ । महिलाहरूमा इन्फेक्सन सजिलै लाग्छ र सजिलै निको पनि हुन्छ । पुरुषलाई इन्फेक्सन ढिलो हुने भए पनि निको हुन पनि लामो समय लाग्छ । पानी कति खानु पर्छ भन्ने आम मानिसलाई थाहा हँुदैन । पानीको मात्रा शरीरमा धेरै भएपछि पिसाब धेरै लाग्ने हुन्छ । दैनिक २ देखि ३ लिटर पानी खानु पर्छ । कम पिसाब जादाँ शरीरलाई चाहिने पानीको मात्रा पुग्छ । जुन मानिस गर्मीमा पनि एसीको चिसो हावामाभित्र बसिरहेको छ भने ३ लिटर पानी खानु पर्छ ।
कुुन उमेरमा बढी इन्फेक्सन हुुन्छ ?
इन्फेक्सन युवा र युवतीहरूलाई बढी हुन्छ । शारीरिक सम्बन्धमा सक्रिय उमेर समूहका मानिसहरूमा इन्फेक्सन सर्ने बढी सम्भावना हुन्छ । वृद्धवृृद्धाहरूलार्र्ई कम इन्फेक्सन हुन्छ ।
वृद्धावस्थामा किन छिटोेछिटोे पिसाब लाग्छ ?
पुरुषहरूको उमेर ५० वर्ष काटेपछि शरीरमा प्रोस्टेड अंग हुन्छ । त्यो अंग उमेरको हिसाबले बढ्दै जान्छ । कुनै बेला प्रोस्टेड बढ्दै गएपछि पिसाबको नलीलाई च्यापिदिन्छ । पिसाब फेर्ने बेला सजिलै पिसाब जाँदैन । पिसाब गरिसकेपछि पनि सन्तुष्ट नहुने हुन्छ । महिलाहरूमा पाठेघरको वरिपरीको मांसपेशी कमजोर भएर तलतिर झर्ने गर्छ । तलतिर झरेको पाठेघरले नलीलाई च्यापिदिन्छ । पिसाब पटकपटक आउने गर्दछ ।
यसको उपचार कसरी हुन्छ ?
हरेक रोगको उपचारका लागि पहिलो त बानी व्यवहारमा सुधार गर्नुपर्छ । दैनिक ३ देखि साढे ३ लिटरसम्म पानी खानु पर्छ । पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, पिसाबमा रगतजस्तो देखिने, पिपजस्तो देखिने, तल्लो पेट दुख्ने भएमा उपचारको लागि जानु पर्छ । इन्फेक्सन समयमा उपचारपछि निको हुने रोग हो । इन्फेक्सनको समयमा उपचार भएन भने इन्फेक्सन रगतको माध्यमले धेरै अङ्गमा गएर फैलिन्छ । त्यो समयमा मत्यु पनि हुन सक्छ ।
अन्त्यमा केही सुझाव दिन चाहनुहुन्छ ?
मृगौला र मुत्रप्र्र्रणालीका अङ्गहरूबारेमा कुरा गर्दा शरीरको धेरै महत्वपूर्ण अङ्ग हो । यो बिग्रियो भने शरीरको धेरै जसो अङ्गमाथि असर पर्न जान्छ । बेलामा नै यी अङ्गहरूलाई सुरक्षित राख्नु पर्छ । सामान्य स्वास्थ्यका लागि दैनिक कसरत गर्ने, स्वस्थ्य खानपान गर्ने, दिसापिसाब गर्ने ठाउँ सफा हुनु पर्छ । पानीको व्यवस्था पर्याप्त हुनुपर्छ । हात राम्र्ररी सफाई गर्नुु पर्छ ।