त्रेतायुगमा भएको दिव्य मिलनको स्मरण, मिथिलामा उमंग–उत्साहको माहोल, आज देशभर भगवान् राम र सीताको पूजा–आराधना गर्दै विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदैछ। मिथिलाको राजधानी जनकपुरधाममा तिथिअनुसार मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न भएको राम–सीताको पौराणिक विवाहलाई पुनःअभिनय गर्दै भव्य महोत्सव आयोजना भइरहेको छ।
गोस्वामी तुलसीदासले वर्णन गरेको रामायणका आधारमा मिथिलावासीले यो पर्वलाई विशेष सांस्कृतिक–आध्यात्मिक उत्सवका रूपमा मनाउँदै आएका छन्। मिथिलाका राजा जनकले राखेको स्वयंवरमा अयोध्याका राजकुमार रामले शिवधनुष भाँचेपछि आजकै दिन राम–सीताको विवाह सम्पन्न भएको विश्वास गरिन्छ। जनकपुरको रङ्गभूमिमा आयोजित त्यस ऐतिहासिक स्वयंवरमा ५६ कोटी देवताको अदृश्य उपस्थितिको धारणा आज पनि बराबर जीवन्त छ।
महोत्सवको क्रममा मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवरदेखि विवाह संस्कारसम्मका कार्यक्रम आकर्षक झाँकी, बाजागाजा र शोभायात्रासहित सम्पन्न गरिन्छ। राम मन्दिरबाट डोला सिंहासनमा विराजमान भगवान् राम र जानकी मन्दिरबाट विशेष सुसज्जित डोलामा आएकी माता सीतालाई रङ्गभूमिमा एकै स्थानमा पु¥याइन्थ्यो, त्यही परम्परा आज पनि उत्तिकै भव्यताका साथ दोहोरिन्छ।
रङ्गभूमिमा वर–बधुपक्षबीचको परम्परागत हाँसो–ठट्टा, प्रतीकात्मक झाँकी, लाखौँ भक्तजनको उत्साह र भक्ति वातावरणले वास्तविक विवाहको भव्यता अनुभूत गराउँछ। पहिले तिरहुतियागाछीमा आयोजना हुने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमै विशेष कार्यक्रमसहित मनाइँदै आएको हो।
श्रद्धालुहरू बिहानै पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजाअर्चना गर्छन्। भजन–कीर्तन, रामलीला, झाँकी प्रदर्शन र प्रवचनजस्ता धार्मिक कार्यक्रमले जनकपुरधाम आज पूरै आध्यात्मिक रंगमा रङ्गिएको छ। यस पर्वमा सहभागी हुँदा मनोकामना पूर्ण हुने र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।
पहिले एक महिनासम्म चल्ने यो महोत्सव हाल चार दिनमा सीमित गरिएको भए पनि आकर्षण र भव्यतामा कुनै कमी देखिँदैन। आज देशका सबै राम–सीता मन्दिरमा विशेष पूजा गरिँदैछ। यसै दिन विवाह गर्न साइत नचाहिने मान्यता पनि प्रचलित छ।