मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिपछि विरोध उग्र बनेको छ। असन्तुष्ट दलका नेता–कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयको कर्मचारीमाथि कुटपिट गरेका छन् भने कार्यालयभित्र तोड़फोड भएको छ।
एक भिडियोमा देखिए अनुसार, कर्मचारीले रेकर्ड फाइल जोगाउने प्रयास गर्दा भीडले उनमाथि आक्रमण गरेको छ र उनको टाउकोमा मुक्का हानी फाइल भुइँमा खसेको छ। अर्का साथीले उनलाई आक्रमित भिडबाट बचाउँदै कोठाबाट बाहिर निकाल्दै सुरक्षा प्रदान गरेका थिए।
त्यसै क्रममा, मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिएको छ। विरोध प्रदर्शनमा नेपाली कांग्रेस, जसपा, लोसपा लगायतका प्रदेश सांसद र कार्यकर्ताहरू सहभागी थिए। कांग्रेसका सांसदहरूले कार्यकक्षभित्र प्रवेश गरेर राष्ट्रिय झन्डा फाल्नेसमेत गरेका थिए।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले २४ कात्तिक बिहान ४ बजे काठमाडौं जान लागेको भन्दै बिरामी भएको उल्लेख गरेकी थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए। तर महोत्तरीको बर्दिबासस्थित होटेलमा पुगेर उनले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी छन्।
यस घटनापछि प्रदेशमा राजनीतिक तरंग बढेको छ। निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कदमलाई मधेश प्रदेशको अस्मिता लुटिएको भन्दै आलोचना गरेका छन्।
त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्ने अवसर यही भएको भन्दै, सभा सडकमा नै बोलाएर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।