यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार शुरू भइसकेको छ । दशैंको रमझम सकिएपछि उल्लास र उज्यालो पर्वको रुपमा तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्व छ । धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने यस पर्वको विशिष्ट महत्व रहेको छ ।
काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोबद्र्धन पूजा हुँदै भाइटीका गरी मनाइने यस पर्वले सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धको अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाएको छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँ विभिन्न जातजातिका आआफ्नै संस्कृति र परम्परा विद्यमान छन् । भूगोल र सम्प्रदायअनुसार सबैका आआफ्नै रीतिरिवाज र परम्पराहरूले यहाँको सांस्कृतिक पाटोलाई फराकिलो बनाएको छ ।
नेपालमा तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा लिइन्छ । तिहारको धार्मिक महत्वसँगै यसको सांस्कृतिक र सामाजिक पक्ष पनि महत्वपूर्ण मानिन्छ ।
यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने यस पर्वको सबै दिनमा आफ्नै महत्व रहेको ज्योतिषी पण्डित छविरमण सुवेदी बताउँछन् । ‘काग तिहारदेखि भाइटीकासम्म गरिने सबै धार्मिक पूजाआजाले उनीहरूप्रतिको मोह र महत्वलाई दर्शाउँछ । कागको पूजा गर्दै शुरूवात हुने यस पर्वले कागलाई सूचनाको वाहकको रुपमा अथ्र्याउँछ । यसलाई हिन्दू परम्पराअनुसार यमराजको दूतको रुपमा समेत लिइन्छ । धार्मिक मान्यताअनुरुप यसको पूजा गर्नु यसले सबैलाई समभावको रुपमा हेर्ने समेत विश्वास गरिन्छ,’ सुवेदीले भने ।
यमपञ्चकको दास्रो दिनमा पर्ने कुकुर तिहारमा निकै श्रद्धाका साथ कुकुरको पूजा गरिन्छ । यसले घरपालुवा जनावर कुकुर जसलाई मालिकभक्त भनेर समेत बुझिन्छ । कुकुरको पुूजा गर्नु उप्रतिको सम्मान हो । मानव समाजमा पशुको महत्व बोध गरेर गरिने यस्ता कार्यले कुकुरप्रतिको अपनत्व प्रकट हुने र मानवलाई पशुको महत्व महसुस गर्ने एक अवसर पनि हो । आज्ञापालक इमान्दार पशुको रुपमा लिइने यसलाई पूजा गर्नु यमदूतलाई पूजा गरेको मान्यता हिन्दु धर्मले राख्दछ ।
तेस्रो दिन गरिने लक्ष्मीपूजा र गाई तिहारको नेपाली समाजमा छुट्टै महत्व छ । गाईलाई हाम्रो राष्ट्रिय जनावरको रुपमा यसको विशिष्ट महत्वको पशुका रुपमा मान्दछौं । गाईलाई हिन्दू धर्मले देवीको रुपमा श्रद्धापूर्वक पूजाआजा गर्ने गरिन्छ । यसको गहुँत र गोबर धार्मिक कार्यमा पवित्र मानिन्छ । यसलाई हिन्दू धर्मले हरेक पवित्र कार्यमा अनिवार्य मानेको सुवेदी बताउँछन् ।
‘लक्ष्मी पूजा र गाईतिहारको धार्मिक पाटो हिन्दू संस्कारमा महत्वपूर्ण छ । धनकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिने यस दिनमा ऐश्वर्य प्राप्तिको लागि लक्ष्मीको पूजाआजा गरी घरआँगन उज्यालो बनाउने गरिन्छ । यसबाट धनसम्पत्ति आर्जन र ऐश्वर्यप्राप्ति हुने धार्मिक मान्यता छ,’ उनले भने ।
त्यसपछिको गोबद्र्धन पूजामा गोरुलाई पूजा गर्ने गरिन्छ । यसमा वर्षभरि अन्न उत्पादनमा मूल भूमिका निर्वाह गर्ने गोरुलाई पूजाआजा गरी मनाइने यस दिन सबैले घरघरमा गाईको गोबरले गोबद्र्धन बनाई त्यसको पूजा गर्ने गरिन्छ ।
सबैभन्दा महत्वपूर्ण मानिने यमपञ्चकको पाँचौं दिनमा पर्ने भाइटीकामा दिदीबहिनीले दाजुभाइको पूजा गरी लामो आयुको कामना गर्ने यस पर्वले पारिवारिक पुनर्मिलन र भातृत्वको भावना विकास गर्ने गर्दछ । लामो समयदेखि बिछोडिएका दिदीबहिनीहरूले दाजुभाइहरूलाई टीका लगाइदिने र दाजुभाइले उपहार कोसेली प्रदान गर्ने गर्दछन् ।
दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नु पर्छ । फूल, अक्षता, चन्दन तथा लावाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिनु पर्छ । सगुनका रूपमा दही दिनु पर्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन भने सयपत्री फूलको रंग कहिल्यै उडेर जाँदैन । दूबोलाई लामो आयुको प्रतीक मानिन्छ । यसरी मनाइने तिहारको आफ्नै धार्मिक महत्व छ ।
यसको सांस्कृतिक र सामाजिक पाटो पनि अत्यन्त महत्वपूर्ण रहेको सामाजशास्त्रका सहप्राध्यापक वीरेन्द्रप्रसाद साह बताउँछन् । तिहार एक सांस्कृतिक र सामाजिक महत्वको पर्वसमेत भएको उनी बताउँछन् ।
‘यही समयमा नातागोताहरू भेट हुने एक अवसको रुपमा पनि यसको महत्व रहेको छ,’ उनले भने, ‘देउसी र भैलोले यसको थप सामाजिक र सांस्कृतिक पाटो उजागर गर्दछ ।’
गाउँघरमा यो समय सबै जम्मा हुने र भैलौ खेल्ने परम्परा छ जसले सामाजिक र सांस्कृतिक पाटो निहीत छ । सामाजिक विकृति विसंगतिलगायत चेतनामूलक गीतसंगीतको माध्यमबाट समाजलाई सुसूचित समेत गर्ने परम्परा हालसम्मै विद्यमान छ । युवादेखि वृद्धसम्म सबै आआफ्नै समूहमा खेलिने भैलोले सामाजिक सद्भाव र राजनीतिक सचेतता प्रदान गर्न मुख्य भूमिका खेलेको दृष्टान्त आजपर्यन्त कायम छ ।
‘पञ्चायतकालीन निरंकुश अवस्थामा समेत तिहारको समयमा गीतसंगीतको माध्यमबाट जनतालाई व्यवस्थाविरुद्ध सचेत बनाउन देउसी र भैलोको माध्यमबाट सचेत बनाइन्थ्यो । त्यस समयमा गाउँघरमा जागरण ल्याउन भैलो खेली राजनीतिक चेतना जगाउने काम समेत कलाकारहरूले गर्ने गर्दथे,’ सम्झिन्छन् ।
यसले मानिसहरूलाई सचेत बनाउने र व्यवस्था परिवर्तको आन्दोलनमा सांस्कृतिक कार्य देउसी भैलोले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सामाजिक र राजनीतिक सचेतना प्रदान गर्न देउसी भैलौ खेल्ने प्रचलन थियो ।
दिदीबहिनी दाजुभाइ पेशाकर्मी लगायत अधिकांश क्षेत्र र समुदायका मानिसहरू मौलिकरुपमा खेलिने देउसी भैलोले सामाजिक एकता र सांस्कृतिक प्रर्बद्धनमा टेवा पु¥याएको शाहको तर्क छ ।
‘नेपालको हरेक क्षेत्रमा आआफ्नै सांस्कृतिक मूल्यमान्यताहरू छन् । यस पर्वको हाम्रो देशको सन्र्दभमा धार्मिकसँगै सामाजिक र सास्कृतिक दृष्टिले बहुआयमिक महत्व रहेको छ,’ उनले थपे ।
मासिँदै तिहारको मौलिकता
दोस्रो ठूलो चाड तिहारका कतिपय धार्मिक र सांस्कृतिक प्रचलनमा विचलन देखा पर्न थालेको छ । सञ्चार तथा सामाजिक माध्यमको बढ्दो प्रयोगले पर्वमा अन्य प्रभाव बढेको मौलिकता हराउँदै गएकोमा चिन्ता प्रकट गरिन थालेको छ ।
धार्मिक तथा संस्कृतिविद्हरूका अनुसार अन्य चाडहरूजस्तै तिहारमा पनि सांस्कृतिक पक्ष कमजोर हुँदै गएका छन् । ‘कतिपय सांस्कृतिक गतिविधिहरू अहिले हराउन थालेका छन् । पर्वतिहारमा नयाँ क्रियाकलाप हुन थालेका छन् । केही नेपाली मौलिक परम्परा अन्य सभ्यता र संस्कृतिमा फैलिएको पनि देखिएको छ,’ सांस्कृतिक सरोकारका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोर भन्छन् ।
तिहार प्रकृतिसँग र कृषिसँग जोडिएको पर्व भएको उनको बुझाइ छ । यसमा पूर्ण आयु बाँच्नुपर्छ भन्ने प्राकृतिक चेतना मिसिएको छ । तेल, दुबो र नओइलाउने फूलको चलन त्यसैको प्रतीक हो । देउसी भैलोमा पनि पर्यावरण चेतना प्रतिविम्बित हुने भएकाले यसलाई प्रकृतिसँग जोडेर हेर्नुपर्नेमा जानकारहरू बताउँछन् ।
नेपाली मौलिक तिहारमा अहिले आएर परिवर्तन देखिन थालेको संस्कृतिविद्हरूको भनाइ छ । पछिल्लो समयमा देउसी भैलोमा पनि बाह्य संस्कृतिको प्रभाव घुसेको छ । तिहारका मौलिक गीतको सट्टा अन्य गीतहरू बजाउने गरिन्छ । अन्य संस्कृतिको प्रभावले मौलिकता हराउँदै गएको छ ।
परिवर्तनका रूपमा कतिपयले त्रयोदशीका दिन गरगहना, सुन र नयाँ भाँडाकुँडा किन्ने कुरालाई पनि लिने गरेका छन् । नेपाल राष्ट्र बैंकले उक्त दिन सुनचाँदीका सिक्का बिक्री गर्छ । यस दिन आयुर्वेदका महर्षि धन्वन्तरिको प्रादुर्भाव भएको ठानिन्छ । पुराणहरूका अनुसार उनी देवता र दानवले मिलेर समुद्र मन्थन गर्दा हातमा अमृत भरिएको कलश लिएर उत्पन्न भएका थिए । अहिले यो दिनलाई भारतीय शैलीमै धनतेरसका रूपमा पनि मनाउन थालेको पाइन्छ ।
यो चलन नेपालमा भारतीय सञ्चारमाध्यम र चलचित्रका माध्यमबाट प्रवेश गरेको हो । पहिले धनतेरस भनेर अहिलेजस्तो प्रचारप्रसार हुँदैन थियो । यसमा व्यापारिक कारण पनि भएकाले धेरै प्रचार भएको हो । यस दिनलाई लक्ष्मीपूजाको तयारीका रूपमा लिइन्छ ।
धन्वन्तरिले समुद्र मन्थनका बेलामा नयाँ घडामा अमृत लिएर उत्पत्ति भएकाले उनलाई स्मरण गरेर नयाँ भाँडा किन्ने र चढाउने चलनबारे शास्त्रमा उल्लेख भएको बताइन्छ । यो शास्त्रीय परम्पराले व्यापारिक रूप लिएको छ ।
पहिले जुन खालको देउसीभैलो हुन्थ्यो अहिले हुन छाड्यो । अन्य पर्वजस्तै तिहार पनि व्यापारिक बन्दै गएको देखिन्छ । तिहारमात्र होइन, नेपालका अन्य पर्वहरूमा सांस्कृतिक पक्ष कमजोर र रमाइलो गर्ने पक्षमात्र बलियो भइरहेको देखिएको पत्रकार चन्द्रकिशोरको बुझाइ छ ।
ज्योतिष पण्डित छविरमण सुवेदी तिहार पर्व कृत्रिम बन्दै गएकोमा चिन्तित देखिन्छन् । ‘उज्यालो पर्वमा दियो र कपासको बत्ती बाल्नुपर्नेमा आयातित झिलिमिली बत्तीले ठाउँ लिएको छ । आधुनिकता र सहजताले परम्परा मासियो,’ उनले भने ।
पत्रकार चन्द्रकिशोर भने आयातित बत्तीमा समेत कर्पोरेटाइजेसन भएको बताउँछन् । ‘पर्वहरूलाई व्यापारिकरण गरिएको छ । व्यापारीकरणमा पनि ठूला व्यापारीको कब्जा छ,’ उनी भन्छन् ।