अब संयुक्त अरब इमिरेट्स (यूएई) मा परिवार वा साथीलाई भिजिट भिसामार्फत ल्याउन चाहनेले निश्चित न्यूनतम तलब पूरा गरेको हुनुपर्नेछ। यूएईले यसका लागि चार भिन्न तहको व्यवस्था गरेको छ।
पहिलो तह: बुबा–आमा, श्रीमान/श्रीमती, छोराछोरी
- मासिक न्यूनतम तलब: ४,००० यूएई दिराम
दोस्रो तह: दाजुभाइ, दिदीबहिनी, हजुरबा–हजुरआमा, नाति–नातिनी
- मासिक न्यूनतम तलब: ८,००० यूएई दिराम
तेस्रो तह: काका–काकी, मामा–फुपु, कजिन
- मासिक न्यूनतम तलब: ८,००० यूएई दिराम
साथी/नन–रिलेटिभ:
- मासिक न्यूनतम तलब: १५,००० यूएई दिराम
यूएईको संघीय प्राधिकरण (आईसीपी) ले प्रायोजकको आम्दानीको आधारमा भिजिट भिसा अनुमति दिने व्यवस्था गरेको छ। भिसा आवेदनका क्रममा सम्बन्धको प्रमाण, कम्तिमा ६ महिनाको लागि मान्य राहदानी र फिर्ता यात्रा टिकट प्रस्तुत गर्नुपर्नेछ।
यस प्रावधानको उद्देश्य पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्नु रहेको आईसीपीले जनाएको छ।
यूएईले चार नयाँ भ्रमण भिसाको वर्ग तोकेको छ, जसमा कृत्रिम बृद्धिमत्ता (AI), मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाजहरू र अन्य मनोरञ्जन गतिविधि समावेश छन्।
त्यसैगरी, मानवीय बसोबास अनुमतिपत्र एक वर्षका लागि जारी हुनेछ र विशेष सर्त अनुसार प्राधिकरणको निर्णयमार्फत विस्तार गर्न सकिनेछ। यसले विदेशी विधवा वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई प्रायोजकविना यूएईमा बसोबास प्राप्त गर्न अनुमति दिनेछ।
आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीका अनुसार, नियम संशोधन गर्दा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रवृत्तिहरूको अध्ययन गरिएको थियो। उनले भने, “नयाँ संशोधनले जीवनस्तर सुधार, व्यापार र यातायात वृद्धि, प्रविधि क्षेत्रको प्रोत्साहन र यूएईको प्रतिस्पर्धात्मक क्षमतालाई सुदृढ पार्नेछ।”