अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले अन्ततः यूएसए क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ। भर्चुअल बैठकपछि मंगलबार आईसिसी बोर्डले यो निर्णय लिएको हो।
तर, यूएसए क्रिकेटको निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा सुरु हुने टी-२० विश्वकप तथा लस एन्जलस २०२८ ओलम्पिक जस्ता खेलहरूमा अमेरिकी राष्ट्रिय टोलीको सहभागितामा असर पर्ने छैन।
आईसिसीले जुलाईमा आफ्नो वार्षिक साधारण सभामा यूएसए क्रिकेटलाई ‘निष्पक्ष चुनाव’ सञ्चालन गर्न र ‘व्यापक’ प्रशासनिक सुधार गर्न तीन महिनाको समय दिएको थियो। दुई महिनापछि आईसिसीले यूएसए क्रिकेटलाई नोटिसमा राखेको थियो। आईसिसी बोर्डले सुधारको प्रगतिका आधारमा आवश्यक कारबाही गर्ने अधिकार सुरक्षित राखेको चेतावनी पनि दिएको थियो।
आईसिसीको प्रेस विज्ञप्तिमा भनिएको छ, “आजको बैठकमा बोर्डले गरेको निर्णय यूएसए क्रिकेटले आईसिसीको विधानअनुसार सदस्यको रूपमा आफ्ना दायित्वहरू बारम्बार र निरन्तर उल्लङ्घन गरेको आधारमा लिइएको हो। यसमा कार्यात्मक प्रशासनिक संरचना लागू गर्न असफल हुनु, संयुक्त राज्य ओलम्पिक र पाराओलम्पिक समितिबाट राष्ट्रिय प्रशासनिक निकायको स्थिति प्राप्त गर्न प्रगतिको अभाव, र संयुक्त राज्य अमेरिका तथा विश्वभर क्रिकेटको प्रतिष्ठामा क्षति पुर्याउने महत्वपूर्ण कार्यहरू समावेश छन्।”
मंगलबार साँझदेखि यूएसए क्रिकेट तत्काल प्रभावसहित निलम्बित गरिएको छ। आईसिसीले अस्थायी रूपमा अमेरिकी राष्ट्रिय टोलीहरूको व्यवस्थापन र प्रशासन आफ्नो हातमा लिएको छ।
यूएसए टोलीहरूले भने अझै पनि आईसिसीका प्रतियोगिताहरूमा भाग लिन र ओलम्पिकका लागि तयारी गर्न सक्नेछन्।
निलम्बन अघि आईसिसीले यूएसए क्रिकेटसँग ‘रोडम्याप’ निर्माण गर्न र राष्ट्रिय प्रशासनिक निकायको स्थिति प्राप्त गर्न सहयोग गरिरहेको थियो। निलम्बन हटाउनको लागि यूएसए क्रिकेटले नर्मलाइजेसन समितिसँग समन्वय गर्दै प्रशासनिक संरचना, कार्यप्रणाली र क्रिकेट इकोसिस्टममा प्रदर्शनयोग्य सुधारहरू गर्नु पर्नेछ। समितिले प्रगतिलाई अनुगमन गर्दै आवश्यक परामर्श र समर्थन प्रदान गर्नेछ।