राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनकै आग्रहमा बाहिरिएको स्पष्ट गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले सुरक्षा चुनौतीको कारण देखाउँदै कारागार प्रशासनले पटक–पटक फोन गरेर आग्रह गरेपछि मात्र सभापति लामिछाने निस्किएको बताइन्।
‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो,’ रावलले भनिन्।
उनका अनुसार कारागार प्रशासनले प्रेषित पत्रबारे पनि कारागार प्रशासनले नै स्पष्ट पार्नुपर्ने छ। ‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर पत्र आएको छ। त्यसबारे हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला,’ उनले भनिन्।
त्यस्तै, पार्टी प्रवक्ता मनिष झाले पनि पत्रका विषयमा उठेका प्रश्नप्रति आपत्ति जनाए। उनका अनुसार पत्रको केरकारबारे मात्र चर्चा भइरहेको तर त्यहाँ उल्लेखित हस्ताक्षर र स्टाम्पबारे भने कसैले प्रश्न नउठाएको बताएका छन्।
‘पत्रको बारेमा प्रश्न उठेको हुन्छ, तर केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नुभएन,’ उनले भने।
रास्वपाले कारागार प्रशासनले नै जोखिम रहेको भनी सूचित गरेपछि सभापति लामिछानेको सुरक्षाको जिम्मेवारी पार्टीले नै लिएको जनाएको छ।