अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन्।
संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यतामा देश खरो उत्रन नसक्नुकै कारण पछिल्ला आन्दोलनहरू भएका बताइन्।
उनले भनिन्, “जेन–जी पुस्ताको आन्दोलन, विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका, कानूनी राज्य र सुशासनजस्ता लोकतान्त्रिक मान्यतामा खरो उत्रिन नसक्नु नै हाम्रो कमजोरी हो।”
प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकार युवापुस्तासहित सबै नागरिकका आशा र अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनका अनुसार रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन्।
आफू कुनै पदको आकांक्षा बोकेर प्रधानमन्त्री नभएको स्पष्ट गर्दै उनले संकटग्रस्त अवस्थामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधका आधारमा नेतृत्व सम्हालेको बताइन्। उनले नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन्।
प्रधानमन्त्री कार्कीले संविधान दिवस सबै नेपालीले गौरव गर्ने दिन भएको उल्लेख गर्दै यस दिनलाई केबल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्।