बारा र पर्सा जिल्लामा बुधबार दिउँसोदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति २४ घण्टापछि पुनः सुचारु भएको छ।
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका अनुसार बुधबार दिउँसो ४ बजे अवरुद्ध भएको विद्युत् आपूर्ति बिहीबार करिब ४ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
सबस्टेशनमा आगलागी
प्राधिकरणको परवानीपुर सबस्टेशनमा ११ केभी प्यानलमा सर्टसर्किट भई आगलागी भएपछि आपूर्ति बन्द भएको थियो। आगलागीका कारण सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरमार्फत वितरण हुने विद्युत् पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बिहीबार बिहान ६ बजे केही समय आपूर्ति भए पनि १३२ केभीए ब्रेकरको बुस फुटेपछि सेवा पुनः रोकिएको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिए। उनका अनुसार आवश्यक मर्मत सम्पन्न भएपछि अपरान्हदेखि आपूर्ति नियमित गरिएको हो।
दैनिक जीवन र उद्योग प्रभावित
बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुँदा वीरगञ्ज र आसपासका क्षेत्रमा दैनिक जीवन प्रभावित भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादनमा समेत ठूलो असर परेको छ।
गौतमले प्राधिकरणले पूर्वाधार अद्यावधिक नगरेकाले समस्या दोहोरिँदै आएको आरोप लगाउँदै विद्युत् पूर्वाधारलाई द्रुत गतिमा सुधार गर्न माग गरे।