गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य प्राथमिकता नै आगामी संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन्।
बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनले निर्वाचन गराउन नसके सरकार असफल ठहरिने र त्यसको दाग आफूहरूमाथि नलागोस् भन्नेमा सचेत रहेको बताए। “यो सरकार निर्वाचनको म्यान्डेटसहित बनेको हो। त्यसैले हाम्रो अर्जुनदृष्टि निर्वाचनमै केन्द्रित छ,” गृहमन्त्री अर्यालले भने।
कानुनी बाधा हटाउन अध्यादेश ल्याइने
उनका अनुसार, जेनजी समूह निर्वाचनमा सहभागी हुन नपाउने स्थिति हटाउन सरकारले आवश्यक कानुनी सुधारका लागि अध्यादेश ल्याउने तयारी गरेको छ। उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि निर्वाचन आयोग, सञ्चारमाध्यम, नागरिक समाज, राजनीतिक दल र सम्बन्धित निकायहरूको साझा सहमति आवश्यक रहेको औंल्याए।
स्रोत, साधन र सुरक्षा सुनिश्चित
गृहमन्त्री अर्यालले निर्वाचनलाई मितव्ययी, व्यवस्थित र सुरक्षित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने,
“यो सरकारको मुख्य काम निष्पक्ष र समयमै निर्वाचन गराउनु हो। त्यसका लागि शान्ति–सुरक्षा पहिलो शर्त हो। स्थितिलाई सामान्य बनाउँदै आवश्यक संरचना र समन्वय तयार गर्नुपर्छ। निर्वाचन भनेको वैधता र अन्तर्राष्ट्रिय स्वीकार्यताको कुरा पनि हो, त्यसैले सबै पूर्वशर्तहरू पूरा गर्न साझा सहमति आवश्यक छ।”
जेनजी पुस्ता र पुनर्निर्माण
विद्रोहबाट आएका जेनजी पुस्तालाई राजनीतिमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आन्दोलनका कारण सरकारी कार्यालयमा पुगेको क्षतिको पुनर्निर्माणलाई सरकारको उच्च प्राथमिकता रहने बताए।
सुधार र पारदर्शिता
निर्वाचनलाई थप पारदर्शी र कम खर्चिलो बनाउन आयोगले उपयुक्त देखेका सुझावलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री अर्यालको भनाइ छ। उनले दल दर्ता तथा मतदाता नामावली अद्यावधिकसम्बन्धी कानुनी समस्या समाधान गर्न अध्यादेशमार्फत आवश्यक संशोधन गरिने जानकारी दिए।
विदेशमा रहेका नेपालीका लागि मतदान
विदेशमा रहेका नेपालीलाई पनि आवधिक निर्वाचनमा सहभागी हुने अवसर दिनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर नपर्ने गरी उपयुक्त व्यवस्था खोज्न निर्वाचन आयोगलाई निर्देशन दिए।
युवा पुस्ताका लागि कोसेढुङ्गा
गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई युवा पुस्ता सहित समग्र नेपाली जनताको सुखद भविष्य निर्माणको कोसेढुङ्गा बनाउन आग्रह गर्दै, निर्वाचन समयमै र निष्पक्ष ढंगले हुनेमा स्पष्ट विश्वास दिलाए।