वीरगञ्जका इ–रिक्सा चालकहरुले मानव बेचविखन नियन्त्रणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा वीरगञ्जमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
दिवसको अवसरमा मानव बेचविखन तथा आसारपसार नियन्त्रण जिल्ला समन्वय समिति, पर्साले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा अटो रिक्सा तथा टाँगा चालकहरुको भूमिकाका बारेमा अन्र्तक्रिया आयोजना गरेको थियो । वीरगञ्ज बसपार्क वा बजार क्षेत्रबाट जोखिममा परेका मानिसलाई अटोमा राखेर नै सीमा क्षेत्रमा लैजाने हुँदा शंकास्पद कुराकानी तथा गतिविधिको बारेमा जानकारी पाएको खण्डमा मानव बेचविखन नियन्त्रणमा काम गर्ने संघसंस्था वा प्रहरीलाई खबर गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा सहभागी इ–रिक्सा चालकहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । नारायणी इ–रिक्सा सञ्चालक समितिका अध्यक्ष सोयब मिया अन्सारीले शंकास्पद गतिविधिको बारेमा थाहा पाउँदा जानकारी गराउने गरेको र आगामी दिनमा पनि गराउने बताए । तर वीरगञ्ज बाहिरबाट आउने इ रिक्साहरुले बदमासी गर्ने गरेको उनको भनाई छ । ‘१० वटा रुट तोकिसकिएको छ, यातायात कार्यालयले रुट परमिट दिँदा वीरगञ्ज बाहिरको भनेर दिन्छ तर उनीहरुले वीरगञ्जमै चलाइरहेका हुन्छन् ।’ उनले भने, ‘वीरगञ्ज महानगरपालिकाले इरिक्साको व्यवस्थापन नगर्दा समस्या भइरहेको छ ।’
उनले संघमा आवद्ध इ–रिक्सा चालकहरुलाई यसअघि पनि मानव बेचविखन विरुद्ध तालिम दिएर सचेत गराएको जानकारी दिए ।
सुर्य इ–रिक्सा नारायणी सञ्चालक समितिका अध्यक्ष दिपक सर्राफले शंकास्पद गतिविधिबारे जानकारी गराउन चालक तयार रहेको तर प्रहरी प्रशासनले उल्टै दुःख दिन नहुने धारणा राखे । ‘ नाकामा केटी लिएर जाने मान्छे एउटा हुन्छ, सूचना दिने मानिसलाई नै प्रहरीले दुई चार घण्टा कुराएर राखिदिन्छ ।’ उनले भने, ‘गरिखाने मानिसलाई दिनभरी अल्झाउन हुन्न, मानव बेचविखन जस्तो जघन्य अपराध हुन नदिन सहयोग गर्छौ ।’
वीरगञ्जमा माइती नेपाल, आफन्त नेपाल, आशिष सामाजिक सेवा नेपाल लगायतका संघ संस्थाले सिमा क्षेत्रमा निगरानी केन्द्रहरु सञ्चालन गरेर मानव बेचविखन रोकथाम तथा नियन्त्रणका लागि काम गदै आइरहेका छन् । सुरक्षा निकायसँगको समन्वयमा शंकास्पद मानिसलाई रोक्ने गरिन्छ । आर्थिक वर्ष २०८१÷८२ मा तीन वटा संस्थाले वीरगञ्जको मुख्य नाकामा बेचविखनको जोखिममा परेका ६ सय ५६ जनालाई रोक्न सफल भएको माइती नेपालको वीरगञ्ज शाखा प्रमुख गोमा पौडेलले बताइन् । उनका अनुसार ७ हजार ९ सय ६१ जनालाई प्रत्यक्ष परामर्श प्रदान गरिएको छ भने ४२ हजार २ सय ४२ जनालाई मानव बेचविखन विरुद्धको सूचना सम्प्रेषण भएको छ ।
पर्सा जिल्लामा सेफ हाउस (सुरक्षित आवास गृह) नहुँदा भारत तथा नाकाबाट उद्धार गरेर ल्याईएका महिला तथा बालबालिकालाई लामो समय राख्न समस्या रहेको उनले बताइन् ।
‘ ५ सय २५ जनालाई आपतकालिन सेवा दिएका छौं, हामीसँग ट्रान्जिट होम (अस्थायी आवास गृह) मात्रै छ । जोखिममा परेका वा उद्धार गरेका महिला तथा बालबालिकालाई छोटो समयका लागि मात्रै राख्न सकिन्छ ।’ उनले भनिन्, ‘जिल्लामा सरकारी सेफ हाउस नभएका कारण ५६ जनालाई अन्यत्र पठाएका छौं ।’ मानव बेचविखनमा परेका वा जोखिममा परेका व्यक्तिलाई कतिपय संघ संस्थाले उनीहरुले चाहेको सीपमूलक तालिम दिने वा पढ्न चाहानेलाई आवास गृहमा राखेर पढाउने समेत गर्दै आएका छन् ।
बाहिरबाट आएका मानिस पहिला इ–रिक्सा वा टाँगा चालकको सम्पर्कमा आउने हुँदा उनीहरुले मानव बेचविखनको जोखिममा परेका व्यक्तिलाई रोक्न सहयोग गर्न सक्ने उनको भनाई छ ।
‘बालबालिका, महिला तथा किशोरी यात्रा गरिरहेका छन र शंकास्पद गतिविधि छ भने ख्याल गर्नुपर्छ, यात्राका क्रममा उनीहरुसँग मिलनसार भएर कुराकानी गर्नुपर्छ । सम्मानजनक ब्यवहार गर्नुपर्छ ।’ उनले भनिन्, ‘शंका लागेमा प्रहरी वा मानव बेचविखन विरुद्ध काम गर्ने संघ संस्थाका प्रतिनीधिलाई जानकारी गराउनुपर्छ ।’
सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भाइरल बनाउने, कलाकार बनाउने, छिटो फेमस बनाउने, पैसा धेरै कमाउन सकिने, विवाह गर्ने, तेस्रो मुलुकमा पठाउने लगायत विभिन्न बहानामा दलालले महिला, किशोरी र बालबालिकालाई प्रलोभनमा पारेर सिमाना कटाउने गरेको उनले बताइन् । भारत पुगेपछि शरीरको अंग निकाल्ने, सर्कसमा नचाउने, कलकारखाना तथा भट्टीमा लगेर श्रम शोषण गर्ने, विवाह गराउने, यौन शोषण गर्ने, विवाह गरेर लगेर अर्कोलाई जिम्मा लगाउने, माग्न लगाउने लगाउने जस्ता घटना हुने गरेकोले सचेत हुन आग्रह गरिन् ।
आफन्त नेपालकी पर्सा प्रमुख मनु रानाले मुख्य नाका बाहेक अन्य नाकाबाट समेत मानव बेचविखनका घटना हुने गरेको बताइन् ।
नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रकी इन्चार्ज नर्स हेमा थापाले एक जनालाई मात्रै बेचविखन हुनबाट जोगाउन सकेपनि पुण्यको काम हुने धारणा राखिन् ।
आशिष सामाजिक सेवा नेपालको वीरगञ्ज कार्यालय प्रमुख कौशल्या वि.क.ले नयाँ मानिस इ रिक्सामा बसेर शंकास्पद कुरा गरेको खण्डमा जानकारी गराउन आग्रह गरिन् ।
मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तोय नाथ सुवेदी मानव बेचविखनलाई रोक्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
‘कोहिपनि नेपालीले बेचविखन परेर नारकिय जीवन विताउन नपरोस भनेर हामी सबै सचेत हुनैपर्छ ।’ प्रजिअ सुवेदीले भने, ‘महिला, किशोरी र बालबालिकालाई प्रलोभन देखाएर सिमा कटाउने कार्य हातेमालो गरौं, मानव बेचविखनलाई रोक्नु नै पर्ने हुन्छ, जति सक्दो सहयोग गरौं ।’
सन् २००२ मा काठमाण्डौमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को एघारौं शिखर सम्मेलनबाट महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी पारित गरिएको थियो । महासन्धीलाई वि.स. २०६३ भदौ २० गते व्यवस्थापिका संसदबाट अनुमोदन गरियो । सोही दिनलाई स्मरण गर्दै नेपाल सरकारले हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ ।