सरकारले सामाजिक सञ्जाल बन्द गरेको निर्णयविरुद्ध जेनजी पुस्ताले सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्।
सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरू (जेनजी) बिहानैदेखि सडकमा उत्रिएका हुन्। राजधानी काठमाडौंमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा कलेज पोशाक र परिचयपत्रसहित विद्यार्थीहरू पनि सहभागी भएका थिए। उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाउँदै सामाजिक सञ्जाल बन्दको निर्णय खारेज गर्न माग गरेका छन्।
२५ वर्षीय प्रज्वलकुमार पाण्डेले भने, “म पहिलो पटक यस्तो प्रदर्शनमा आएको हुँ। भ्रष्टाचार बढेको छ। केही पूर्वाधार बनाउन वर्षौं लाग्छ, तर भ्रष्टाचारका कारण जनताले सुविधा पाउँदैनन्। सामाजिक सञ्जालमा धेरै युवाले व्यवसाय गरेका छन्, तर सरकारले त्यो देखेन।”
त्यस्तै, २३ वर्षीया शुभेच्छा भन्तनाले करको दुरुपयोगविरुद्ध खबरदारी गर्न आफू प्रदर्शनमा आएको बताइन्। “हामीले तिरेको कर जनताको हितमा खर्च भएन। नेताहरू करको पैसामा विदेश घुम्छन्। पहिले सामान्य जीवनशैली भएका नेताहरू राजनीति गरेपछि विलासी बनेका छन्। यो कसरी सम्भव?” भन्दै उनले प्रश्न उठाइन्।
काठमाडौं, वीरगंज, दाङ, बुटवलसहित अन्य स्थानपनि युवाहरूले बिहानैदेखि प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका छोराछोरी पसिना बगाउँछन्’ भन्ने नारा लगाएका थिए। प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरीसहितका युवाहरू अग्रपंक्तिमा देखिएका थिए।
वीरगंजमा जेनजी पदर्शनयस्तै, दाङको घोराहीमा राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका युवाहरूले “सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन” लेखिएको ब्यानर प्रदर्शन गरे। बजार परिक्रमा गर्दै उनीहरूले भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नारा लगाएका थिए। सुरक्षाकर्मीहरूले प्रदर्शनलाई लक्षित गरी कडा व्यवस्था मिलाएका छन्।
प्रदर्शनमा सहभागीहरूले “गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ” जस्ता गीत गाएका थिए। तर कोणसभा वा भाषण कार्यक्रम भने नरहेको उनीहरूको भनाइ छ।
जेनजीहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने स्पष्ट पारेका छन्। राजनीतिक दलका नेताहरूलाई सहभागी नहुन समेत आग्रह गरिएको छ। उनीहरूको मागमा रोजगारी सिर्जना, सुशासन प्रवर्धन र सामाजिक सञ्जाल प्रयोगमा रोक हटाउने विषय प्रमुख छन्।