खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने बाराकी किरण साहमाथि कुनै पूर्वाग्रह नराखेको बताएका छन्।
हाल प्रहरी हिरासतमा रहेकी साहप्रति नरम व्यवहार गर्न आग्रह गर्दै मन्त्री यादवले उनलाई पक्राउ पर्नुसँग आफूलाई नजोड्न आग्रह गरेका छन्।
मन्त्री यादवले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘समस्या प्रश्न गर्नुमा कदापि होइन, तर हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति आएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला । मेरो व्यक्तिगत रूपमा उनीप्रति कुनै पूर्वाग्रह छैन ।’
हैजाको विषयमा आक्रोश
वीरगञ्जमा हैजा फैलिएको समयमा साहले मन्त्री यादवको मोबाइल नम्बरमा फोन गरी आक्रोश पोख्दै ज्यान मार्ने धम्की दिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि पर्सा प्रहरीलाई दिएको सूचनाका आधारमा गत शनिबार साहलाई पक्राउ गरिएको हो।
मन्त्री यादवले भनेका छन्, ‘फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनका लागि सचिवालयमार्फत प्रहरीसमक्ष आग्रह गरेको छु ।’
अनुसन्धान प्रहरीको जिम्मामा
यादवका अनुसार ती महिला अरु कसैको उक्साहटमा परेको हुनसक्ने भन्दै त्यसको मनसाय के थियो भन्नेबारे अनुसन्धान प्रहरीले गर्ने बताएका छन्। उनले थपे, ‘एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिने भए पनि अफवाह फैलाउने र धम्की दिने कार्यले हितैषीहरू चिन्तित हुनु स्वाभाविक हो ।’
लोकतन्त्र र कानुनप्रतिको विश्वास
मन्त्री यादवले लोकतन्त्रमा जनताले गुनासो पोख्ने अधिकार भएको तर अराजकता फैलाउन अनुमति दिन नसकिने स्पष्ट पारे। उनले भने, ‘कानुनभन्दा माथि कोही हुन सक्दैन । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ । अनुसन्धान प्रक्रिया सकिएको जानकारी पाएको छु, आशा छ अदालतबाट राम्रो फैसला आउनेछ ।’