खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लागेकी किरण साहमाथि कडा कारबाहीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) निकट महिला नेतृहरूले प्रदर्शन गरेका छन्।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर स्थायी घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहलाई कारबाही गर्न माग गर्दै महिला नेतृहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी र धर्ना दिएका थिए। प्रदर्शनकारीहरूले “खानेपानीमा राजनीति गर्न पाइँदैन” र “मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर” जस्ता नारा लगाएका थिए।
धर्नामा सहभागी जसपा नेतृ मधुमाया यादवले मन्त्रीलाई ज्यान मार्ने धम्की दिनु गलत भएको बताउँदै असन्तुष्टि सभ्य तरिकाले व्यक्त गर्न सकिने उल्लेख गरिन्। उनले भनिन्, “हामी पनि राजनीतिमा छौँ, तर ज्यान मार्ने धम्की कसैलाई दिँदैनौँ। किरण साहले आफ्नो मर्यादा बाहिर गएर बोलेकी छन्।”
यस्तै, मधेस प्रदेशकी पूर्व प्रदेशसभा सदस्य भीमा यादवले मन्त्री यादवले वीरगञ्जको खानेपानी सङ्कट समाधानका लागि बोरिङ जडान गरेको कार्यको प्रशंसा गरिन्। उनले हैजा फैलिएको भन्ने आरोप मन्त्रीमाथि लगाउनु गलत भएको र धम्की दिनु अनुचित भएको बताइन्।
किरण साहले मन्त्री यादवलाई वीरगञ्जमा फैलिएको हैजा र झाडापखालाको विषयमा चर्को स्वरमा कुराकानी गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त अडियोमा साहले भोजपुरी भाषामा मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको सुनिन्छ। साहले टिकटक र फेसबुकमा पनि मन्त्री यादव र वीरगञ्जका मेयर राजेशमान सिंहलाई धम्की दिँदै बोरिङको पानीले हैजा फैलिएको दाबी गरेकी छन्।
साहको धम्कीपछि मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा पर्सा प्रहरीले उनलाई शनिबार हिरासतमा लिएको थियो। पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, साहविरुद्ध साइबर क्राइम, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
साहले आफ्ना परिवारका सदस्यहरू हैजा र झाडापखालाका कारण अस्पतालको आइसियुमा भर्ना भएको दाबी गर्दै मन्त्री र मेयरलाई धम्की दिएकी थिइन्। तर, मेयर सिंहले साहको परिवारका कोही सदस्य हैजा वा झाडापखालाका कारण अस्पतालमा भर्ना नभएको बताएका छन्। उनले वीरगञ्जका सबै अस्पतालको तथ्याङ्क जाँच्दा यस्तो कुनै रेकर्ड नभेटिएको दाबी गरे।
यसअघि सोमबार, पूर्व मन्त्री करिमा बेगमको नेतृत्वमा अर्को समूहले साहमाथि अन्याय भएको भन्दै उनको रिहाइको माग गर्दै प्रदर्शन गरेको थियो। साहकी आमा साबित्री साहले पनि मन्त्रीले पदको दुरुपयोग गरेको आरोप लगाउँदै छोरीलाई तत्काल रिहा नगरे थप प्रदर्शन गर्ने चेतावनी समेत दिएकी छन्।