हैजा र झाडापखलाबाट प्रभावित वीरगञ्जमा उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ। तर, नयाँ संक्रमित थपिन थालेपछि प्रकोप नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। शुक्रबारदेखि अहिलेसम्म ३९१ जना हैजा र झाडापखलाका बिरामी वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा भर्ना भएका थिए। हाल २२० जना बिरामी अझै उपचाररत रहेको कार्यालयका प्रमुख जयमोद ठाकुरले जानकारी दिए।
ठाकुरका अनुसार सबैभन्दा बढी १०६ जना बिरामी नारायणी अस्पतालमा उपचाररत छन्। त्यस्तै तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयरमा २०, सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३, नारायणी सेन्टर हस्पिटलमा २ जना तथा आशाराम, वीरगञ्ज न्यूरो एन्ड जनरल, स्पर्श एमएस, भवानी र अली अर्थो अस्पतालमा एक/एक जना बिरामी उपचाररत छन्।
हैजाका नयाँ ९५ संक्रमित
उपचारपछि डिस्चार्ज हुने क्रम बढे पनि हैजाका नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन। सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म ९५ जनामा हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
तीमध्ये नारायणी अस्पताल र तराई अस्पतालमा ३२/३२, नेसनल मेडिकल कलेजमा १३, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथालोजीमा ३/३ जना, अली अर्थो र एडभान्स मेडिकेयरमा २/२ जना तथा नारायणी सेन्ट्रल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी वयोद्या र सर्वोत्तम हस्पिटलमा एक/एक जनामा हैजा पुष्टि भएको छ।
आईसीयू र एचडीसीयूमा गम्भीर बिरामी
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हाल २४ जना बिरामीलाई आईसीयूमा र ६ जनालाई एचडीसीयूमा राखेर उपचार भइरहेको छ।
आईसीयूमा सबैभन्दा बढी वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९ र तराई अस्पतालमा ८ जना छन्। यसैगरी सर्वोत्तम र नीलकण्ठ अस्पतालमा २/२ जना तथा नेसनल मेडिकल कलेज, प्रभु हस्पिटल र भवानी हस्पिटलमा एक/एक जना बिरामी उपचाररत छन्।
एचडीसीयूमा भने तराई अस्पतालमा ४ जना, सर्वोत्तम एमएस हस्पिटल र नेसनल मेडिकल कलेजमा एक/एक जना बिरामी उपचाररत रहेको जनाइएको छ।