भारतीय टेलिभिजनको सबैभन्दा लोकप्रिय र मनोरञ्जनात्मक रियालिटी शोमध्ये एक ‘बिग बोस’ नयाँ सिजनसहित फर्किन लागेको छ। बलिउड सुपरस्टार सलमान खानको प्रस्तुतीमा आउन लागेको ‘बिग बोस १९’ यसपटक ‘घरवालों की सरकार’ भन्ने नयाँ राजनीतिक पृष्ठभूमिको थिममा आधारित हुनेछ।
कहिले र कहाँ हेर्ने?
‘बिग बोस १९’ को ग्रान्ड प्रिमियर आज (अगस्ट २४) देखि सुरु हुनेछ। यसपटक शो पहिलोपटक जिओ हटस्टारमा राति ९ बजेदेखि स्ट्रिमिङ हुनेछ भने कलर्स टिभीमा १०:३० बजेबाट प्रशारण गरिनेछ। प्रिमियर एपिसोडमा सलमान खानले प्रतियोगीहरूलाई परिचय गराउने र उनीहरूको कथा दर्शकसँग बाँड्नेछन्।
थिम: ‘घरवालों की सरकार’
यसपटक शोमा राजनीतिक ट्विस्ट ल्याइएको छ। नयाँ अवधारणाअनुसार घरभित्र निर्णय गर्ने अधिकार प्रतियोगीहरूलाई हुनेछ भने मतदान गर्ने अधिकार दर्शकसँग रहनेछ। एन्डेमोल साइनका सिओओ ऋषि नेगीका अनुसार यो थिम अघिल्ला सिजनमा आएको प्रतिक्रिया र आलोचना हेरेर तयार गरिएको हो। यसपटक बिग बोसले नियम बनाउने परम्परागत भूमिकामात्र निर्वाह गर्नेछन्, तर निर्णयमा हस्तक्षेप गर्ने छैनन्।
ग्रान्ड प्रिमियरमा सलमानको धमाका
सलमानले आफ्नो शैलीमा दर्शकलाई मनोरञ्जन दिनेछन्। ट्रेलरहरूमा उनी ‘ऐसा पहली बार हुआ है’ गीतमा नाच्दै शोको सुरुवात गर्दै गरेको देखाइएको छ।
प्रतियोगीहरूको चर्चा
- निर्माताहरूले विभिन्न प्रोमोमार्फत सम्भावित प्रतियोगीबारे संकेत दिएका छन्।
- रातो सुट लगाएको व्यक्तिलाई नृत्य तथा कन्टेन्ट क्रियेटर अवेज दारबार भएको अनुमान गरिएको छ।
- अर्को प्रोमोमा प्रेमलाई ‘मित्रता’ भनेको जोडीलाई धेरैले अवेज र नग्मा मिराजकर ठानेका छन्।
- “दर्शकको मनपर्ने छोरा” भनेर देखाइएको पात्रलाई धेरैले अभिनेता गौरव खन्ना भएको अड्कल गरेका छन्।
त्यस्तै, चर्चामा रहेका अन्य नामहरूमा संगीतकार आमल मलिक, अभिनेत्री आश्नुर कौर, अपूर्वा मुखिजा, अभिनेता जीशान कादरी, बसीर अली, अभिषेक बजाज, तान्या मित्तल, कुनिका सदानन्द, नेहल चुदासामा, नीलम गिरी, र र्यापर डिनो जेम्स रहेका छन्।
फ्यान्सको निर्णय
यसपटक ‘Fans Ka Faisla’ नामक नयाँ खण्ड पनि ल्याइएको छ। यसअन्तर्गत दर्शकहरूले युट्युबर मृदुल तिवारी वा गायक शहबाज बडे़शा मध्ये एकलाई भोट गरेका छन्। विजेता सलमान खानले प्रिमियरमा घोषणा गर्दै घरभित्र पठाउनेछन्।