“सीमाञ्चलको युवा सूचना–प्रविधिमा दक्ष भए दुवैले लाभ लिन सक्छन्, तर त्यसका लागि आधार तयार पार्न ढिलाइ भइसकेको छ।” नेपाली कांग्रेसका महामन्त्री गगन थापाको यो भनाइ सीमाञ्चल विकास र साझा प्रगतिका लागि चेतावनी जस्तो रह्यो।
शनिबार प्रदीप गिरि इन्स्टिच्युटले वीरगञ्जमा आयोजना गरेको “नेपाल, भारत र सीमाञ्चल: युवा, संस्कृति र पहिचानको राजनीति” शीर्षकको सत्रमा थापाले शिक्षा, पोषण र जनशक्तिलाई प्राथमिकतामा राखेर सीमाञ्चलमा दुवै देशको साझा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “बच्चा पढ्न पायो कि पाएन, पोषण राम्रो पायो कि पाएन, त्यसमा ध्यान दिनुहोस्,” उहाँले स्थानीय सरकारहरूलाई आग्रह गर्नुभयो।
उहाँले सीमा क्षेत्रका विशेषतामूलक सम्बन्धलाई कानुनी वा दुईदेशीय सम्बन्धभन्दा अलग राख्दै, सहज व्यापार–व्यवसाय र आउजाउ सुनिश्चित गर्न दुवै देशबीच उदार छलफल आवश्यक रहेको बताउनुभयो। सीमाञ्चल सम्मेलनको आवश्यकता महसुस गर्दै प्रदीप गिरि इन्स्टिच्युटले यसको पहल अघि सार्नुपर्ने उहाँको भनाइ थियो।
भारतीय लोकसभाका सांसद तथा जनता दल युनाइटेडका नेता सुधाकर सिंहले पनि सीमाञ्चलका साझा मुद्दा र जलवायु परिवर्तनका प्रभावमाथि दुवै देशले सहकार्य गर्नुपर्ने औँल्याउनुभयो। उहाँले नेपालले आइटी र मेडिकल क्षेत्रमा आफ्नो अर्थतन्त्र सुधार गर्न सक्ने अवसर रहेको उल्लेख गर्दै, “सस्तो मेडिकल शिक्षा दुवै देशको फाइदामा छ,” भन्नुभयो।
कार्यक्रममा तीनवटा सत्रमा प्रदीप गिरिको चिन्तकीय, सामाजिक र राजनीतिक योगदानमाथि चर्चा भएको थियो। उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्य, उद्योग–वाणिज्य संघका प्रतिनिधि र प्रदीप गिरिका परिवारजनले अनुभव साझा गर्नुभएको थियो।
प्रदीप गिरिको दर्शन, दृष्टिकोण र विचारको संरक्षण तथा प्रवर्द्धन गर्न भदौ ३ गते गठन भएको प्रदीप गिरि इन्स्टिच्युटले यस कार्यक्रममार्फत सीमाञ्चल सम्मेलनको पहल अघि सारेको संस्थापक अध्यक्ष कञ्चन झाले जानकारी दिनुभयो।