जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले निकट भविष्यमा पार्टी एकता गर्ने लक्ष्यसहित कार्यगत एकता गर्ने सहमति गरेका हुन्।
सहमति पत्रमा भनिएको छ, “देशलाई अग्रगामी निकास दिन पहिचानसहितको संघीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहल आवश्यक छ भन्ने कुरा आत्मसात् गर्दै, संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गर्न सहमत भएका छौं।”
सहमति अनुसार, कार्यगत एकताको संरचना तीन तहमा रहनेछ: केन्द्रीय, प्रादेशिक र स्थानीय तह।
केन्द्रीय तह : केन्द्रीय संयोजन समिति रहनेछ, जसमा दुवै पार्टीका अध्यक्षसहित ७/७ जना सदस्य रहनेछन्। समितिमा कम्तीमा २ जना महिला सदस्य अनिवार्य रहने व्यवस्था गरिएको छ। आवश्यकता अनुसार सचिवालय गठन गर्न सकिनेछ।
प्रादेशिक तह : प्रदेश संयोजन समिति रहनेछ, जसमा दुवै पार्टीका प्रदेश अध्यक्षसहित ५/५ जना सदस्य रहनेछन्।
स्थानीय तह : हाललाई जिल्ला संयोजन समिति रहनेछ, जसमा जिल्ला अध्यक्षसहित ३/३ जना सदस्य रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, दुवै पार्टीका जनवर्गीय तथा भ्रातृ संगठनबीच पनि आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने सहमति गरिएको छ। बैठकहरूको अध्यक्षता आलोपालो हुने र संयोजन समितिहरूका बैठक तथा कार्यसूचीहरू आपसी सहमतिको आधारमा निर्धारण गरिने उल्लेख छ।