बाराको कलैया प्रादेशिक अस्पतालको सरसफाइ र सेवाप्रति चरम लापरबाही देखिएपछि सामाजिक अभियन्ता आशिका तामाङले अस्पतालका अध्यक्ष प्रकाश चौगाइलाई सार्वजनिक रूपमा कडा प्रश्न गरेकी छिन्। हालै सार्वजनिक भएको एक भिडियोमा तामाङले अध्यक्ष चौगाइलाई अस्पतालको दयनीय अवस्था देखाउँदै जवाफदेही बन्न चुनौती दिएको दृश्य देखिन्छ।
अभियन्ता तामाङले अस्पतालका शौचालयहरू अत्यन्तै फोहोरी, दुर्गन्धित रहेको, धारामा पानी नआउने र अस्पतालभित्र जताततै फोहोरको थुप्रो देखिएको भन्दै तीव्र असन्तोष व्यक्त गरिन्। उनले अध्यक्षलाई प्रश्न गरिन्, “तपाईंको जिम्मेवारी के हो? भत्ता मात्र पचाएर बस्नुभएको हो?”
भिडियोमा अध्यक्ष चौगाइले सुरुमा समस्या स्वीकार गर्दै “ठीक छ, सही कुरा हो” भने पनि जब महिला शौचालयको अवस्था हेर्न आग्रह गरियो, उनले “त्यो लेडिज टयालेट हो” भन्दै पन्छिन खोजे। यसमा तामाङले थप प्रतिवाद गर्दै भनिन्, “तपाईं व्यवस्थापक हो कि होइन?”
अध्यक्ष चौगाइले सरसफाइको जिम्मा सुपरभाइजर र अन्य कर्मचारीको भएको भन्दै आफू पन्छिने प्रयास गरे पनि तामाङले “यो अभिनय हो?” भनी प्रश्न गर्दै, “यहाँ बिरामी मरिरहेका छन्, संक्रमण फैलिरहेको छ: यति गम्भीर समस्या पनि तपाईंले वास्ता नगर्ने?” भन्दै आक्रोश प्रकट गरिन्।
शौचालयको अत्यधिक दुर्गन्धले आफूलाई वाकवाकी आएको भन्दै तामाङले सोधिन्, “यस्तो शौचालय तपाईंलाई प्रयोग गर्न भनिएको भए के गर्नुहुन्थ्यो?” अध्यक्षले आफू माथिल्लो तल्लाको शौचालय प्रयोग गर्ने बताएपछि तामाङ झनै आक्रोशित भइन्।
घटनाको अन्त्यतिर अध्यक्ष चौगाइ तामाङको प्रश्नबाट झस्किँदै त्यहाँबाट बाहिरिन खोज्दा, उनी उनको पछिपछि लागिन्। अन्त्यमा तामाङले कडा स्वरमा भनिन्, “गुनासो मात्रै सुनेर बस्ने होइन, अब काम गरेर देखाउनुहोस्।”
सार्वजनिक सेवामा बसेका जिम्मेवार व्यक्तिहरूले जनतासँग जवाफदेही बन्नुपर्ने र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गर्न नपाइने भन्ने कुरा यो घटनाले थप उजागर गरेको छ।
बारा प्रदेशिक अस्पताल जहाँ हुन्छ पिसाब नै पिसाब को ताल 😐️😐️
Posted by Ashika Tamang on Saturday, August 2, 2025