पर्सा जिल्लाका प्रमुख नाकाहरूमा सुरक्षा निकायद्वारा कडाइका साथ चेकजाँच भइरहेका बेला भित्री सिमानाकाहरू हुँदै लागुऔषध सेवन तथा आपराधिक गतिविधि बढेको गुनासो तथा सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ।
साउन १४ गते बिहान करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित जानकीटोल चोकमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको इलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सेवन गरी नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले होहल्ला, झैँ–झगडा, सवारी दुर्घटना र अन्य आपराधिक गतिविधिमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरू भारतबाट भित्री सिमानाका हुँदै नेपाल प्रवेश गरी विभिन्न प्रकारका लागुऔषधजन्य सामग्री जस्तै इन्जेक्सन, कोरेक्स, ट्याब्लेट लगायतको प्रयोग गर्दै सार्वजनिक सुरक्षामा खलल पुर्याउने कार्यमा संलग्न थिए।
संयुक्त टोलीद्वारा नियन्त्रणमा लिइएका व्यक्तिहरूले चेकजाँचको क्रममा प्रहरीसँग अभद्र व्यवहारसमेत गरेका थिए। त्यसैले उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरूमा पर्सा, बारा, सिरहा र धनुषा जिल्लाका बासिन्दा रहेका छन्। उनीहरूमा वीरगञ्ज, ठोरी, धोबिनी, बिन्दवासिनी, जितपुरसिमरा लगायत क्षेत्रका युवा समावेश छन्।
पक्राउ परेका १६ जनाविरुद्ध आवश्यक अनुसन्धानपछि लागुऔषध तथा सार्वजनिक सुरक्षामा खलल पुर्याउने अभियोगमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।