वीरगञ्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अनलाइन आवेदन दिन आग्रह गरेको छ।
महानगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा छात्रवृत्ति वितरणका लागि योग्य विद्यार्थीहरूबाट आवेदन माग गरेको हो। आवेदन साउन १ गते बिहान १० बजेदेखि साउन १५ गते राति १२ बजेसम्म अनलाइनमार्फत पेस गर्न सकिनेछ।
न्यूनतम योग्यता र आवश्यक कागजात
कक्षा ९ को लागि कक्षा ८ मा तथा कक्षा ११ का लागि एसईईमा न्यूनतम १.६ जिपिए प्राप्त गरेको हुनु पर्नेछ। सामुदायिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले विद्यालयको सिफारिस पत्र अनिवार्य पेस गर्नुपर्नेछ।
आवेदक वीरगञ्ज महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणका रूपमा जन्मदर्ता, नागरिकता वा बसाइसराइ प्रमाणपत्र पेश गर्नुपर्नेछ। साथै आरक्षण समूहमा आवेदन दिने विद्यार्थीले सम्बन्धित प्रमाणपत्र पनि पेश गर्नु पर्नेछ।
फाराम भर्दा पासपोर्ट साइजको फोटो, चारित्रिक वा ट्रान्सफर प्रमाणपत्र, कक्षा ८ वा एसईईको ग्रेडसिट अनिवार्य हुनेछ। मोबाइलबाट खिचिएको कागजात पनि अपलोड गर्न सकिनेछ।
आवेदन प्रक्रिया र परीक्षा विवरण
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार आवेदन प्रक्रिया पूर्णतः निःशुल्क हुनेछ। फाराम पेस गर्नु अघि विवरण पुनरावलोकन गर्न सकिनेछ, तर एकपटक कनफरमेसन प्राप्त भएपछि मात्र विशेष अनुरोधमा विवरण सच्याउन सकिनेछ।
छनोट प्रक्रिया लिखित परीक्षामार्फत हुनेछ।
- कक्षा ९ का लागि परीक्षा कक्षा ८ को पाठ्यक्रममा आधारित हुनेछ।
- कक्षा ११ का लागि परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ।
परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयमा समान रूपमा २५/२५ अङ्कका प्रश्न रहनेछन्। परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनु पर्नेछ।
विद्यार्थीले फाराम भर्दा आफूले अध्ययन गर्न चाहेको विद्यालय छनोट गर्नुपर्नेछ। फाराम पेस गरेपछि प्राप्त कनफरमेसन पेजलाई प्रिन्ट वा डाउनलोड गर्न सकिनेछ, तर प्रवेश पत्र होइन। परीक्षामा सहभागी हुन चाहनेले महानगरपालिकाबाट एसएमएसमार्फत प्राप्त हुने प्रवेश पत्र अनिवार्यरूपमा पेश गर्नुपर्नेछ।
झुटा विवरण पेस गरेमा आवेदन वा छात्रवृत्तिमा नाम समावेश भए पनि भर्ना स्वतः रद्द गरिनेछ।
छात्रवृत्ति वितरण महानगरपालिकाको "संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७५" र छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुनेछ।
थप जानकारीका लागि सम्पर्क:
- सुजीत श्रीवास्तव: ९८२०९०७२१५
- सुरेन्द्र ठाकुर: ९८१९२२२४८८
- ऋतिक कुमार कहार: ९८२५२४४३०९