काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
आइतबार बसेको १७औं नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले यस्तो बताएका हुन्।
उनले भने, “नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिमको क्रियाशीलता आवश्यक हुन्छ।”
यस अवसरमा उनले महानगरवासी, नागरिक समाज, निजी क्षेत्र, जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अघिल्ला दिनहरूमा प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद पनि व्यक्त गरे।
गत शुक्रबार सम्पन्न ४०औं कार्यपालिका बैठकमा मेयर शाहले बजेट प्रस्तुति आज गर्ने प्रस्ताव गरेका थिए।
राजस्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। आजको नगरसभा बैठकमा सोही बजेट प्रस्तुत गरिने छ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने प्रावधान भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको हो।