वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका कर्मचारीहरूले तलब, भत्ता र अन्य सेवा सुविधाको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।
कर्मचारीहरूले कानूनीरूपमा पाउनुपर्ने तलब, सञ्चय कोष, उपदान, ग्रेड तथा अन्य सेवा सुविधाहरू नपाएको भन्दै ज्ञापनपत्रमार्फत गुनासो पोखेका हुन्। उनीहरूले लामो समयदेखि क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र क्याम्पस सञ्चालक समितिमा मौखिक र लिखित आग्रह गर्दासमेत सुनुवाइ नभएको बताएका छन्।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, श्रम तथा रोजगार कार्यालय, वीरगञ्जमा २०८० असोज ७ र २१ गते दर्ता गरिएका निवेदन र त्यसअनुसार २०८० चैत २७ तथा २०८१ माघ २७ गते गरिएका निर्णयहरूबाट कर्मचारीले सम्पूर्ण सुविधा पाउनुपर्ने ठहर भइसकेको भए पनि क्याम्पस प्रशासनले अहिलेसम्म कार्यान्वयन नगरेको आरोप लगाइएको छ।
श्रम कार्यालयले क्याम्पस प्रमुखलाई १५, ७ र ३ दिनको समयसीमा तोकेर पत्राचार गरे पनि त्यसको कुनै प्रभाव नपरेपछि कर्मचारीहरू तीन दिनको अल्टिमेटमसहित प्रजिअ समक्ष पुगेका हुन्।
ज्ञापनपत्र बुझाउने टोलीको नेतृत्व गरेका कर्मचारी युनियनका अध्यक्ष विनोद यादवका अनुसार, प्रमुख जिल्ला अधिकारी अर्यालले उक्त विषय गम्भीर भएको भन्दै श्रम कार्यालय वीरगञ्जका प्रमुखलाई फोनमार्फत तुरुन्तै आवश्यक निर्देशन दिएका थिए। उनले तलब र सेवा सुविधामा कुनै सम्झौता गर्न नदिइने उल्लेख गर्दै आवश्यक कदम शीघ्र चालिने आश्वासनसमेत दिएका छन्।
कर्मचारीहरूले समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै क्याम्पस प्रमुख, श्रम तथा रोजगार कार्यालय र सञ्चालक समितिलाई पनि बोधार्थ पत्र पठाएका छन्।