निकै विश्वास र आँटका साथ ६५ वर्षिय कल्याणी साह आफुसँग माता जानकीको कृपाले अद्भुत शक्ति रहेको दावी गर्छिन् । ‘मैले महरानीजीको आराधना गरेर जसको टाउकोमा हात हालदिन्छु तिनको सबै मनोकामना पूर्ण हुन्छ,’ उनले भनिन् । तर, उनले यसो भनिराख्दा अर्को तर्फ उनलाई पुरुष भएर पनि महिलाको भेषमा सजिएर नाँच्दै गरेको ‘नटुवा’ भनी हेर्नेहरुले जिस्क्याउन छोडेका थिएनन् । अरुको हाँसो, कुचिष्टा र नराम्रा शब्दहरुले कुनै असर नगरे झैं सबैलाई हेरेर पनि नहेरेको जस्तै गरेर कल्याणी आफ्नो धुनमा नाँच्दै रहिन् ।
गित गाउने, बाजा बजाउने र नृत्यको बेला सहयोग गर्ने उनीसँग ४ जनाको आफ्नै मण्डली थियो । घरबार छाडेर भगवानको भक्तिमा लागेका उनीहरु आफूलाई निकै प्रभावशाली व्यक्ति मान्छन् । जसको आर्शिवादले निशन्तानले सन्तान पाउन सक्छन् र गरेका भाकलहरु पुरा हुन सक्छ भन्ने समाजले ठान्छ पनि । तर, अरुलाई आर्शिवाद दिदैं हिड्ने नटुवाहरु आफैं भने सधैं हेला र अपमानका पात्र मात्रै भएको देखिन्छ । मिथिलाञ्चलमा नटुवा नचाउने परम्परा परापुर्वकालदेखि चल्दै आएको हो ।
पहिला पहिला मिथिलामा महिलाहरु घर आंगनकै काममा व्यस्त रहने र कलाकारिता क्षेत्रमा महिलाहरुको उपस्थिति शुन्यको अवस्थामा रहेको समयमा पुरुषहरु महिलाको भेष बनाएर नाचेर मनोरंन्जन गर्थे । यस कार्यमा रहेकाहरु मध्ये केहीले यसलाई पेसाकै रुपमा अंगाले, जसलाई नटुवा जाति कहलिएको पनि समाजका ज्येष्ठ नागरिकहरुको भनाइ छ । केही आर्थिक उपार्जनको लागि अन्य जातिका व्यक्तिहरु समेत यस कार्यमा संग्लन भएको बुझिएको छ । तर अहिले आएर विस्तारै यो चलन लोप हुने अवस्थामा पुगेको छ ।
मधेश र विशेष गरि मिथिलाञ्चल क्षेत्रमा परापुर्वकालदेखि नै नटुवा नचाउने परम्परा चल्दै आएको थियो । निसन्तान दम्पत्तीले भाकल गर्छनर्् यदि मलाई सन्तान भयो भने म आफ्नो आँचलमा नटुवा नचाउँछु,’ । यदि मनोकामना पुरा हुन्छ र सन्तान सुख प्राप्त हुन्छ भने त्यसपछि भाकल अनुसार नटुवा नचाउने छु भन्ने विश्वासको भाकल गर्ने गरेको पनि पाइन्छ । त्यसैगरी नटुवालाई शुभको प्रतीक मानेर पनि विभिन्न शुभ कार्यहरुमा नचाउने परम्परा छ । व्रतबन्ध, मुन्डन, बच्चाको न्योवारण लगायतका शुभ अवसरहरुमा नटुवा नचाईन्छ । नटुवाहरु सोहर, बधैया जस्ता गितहरु गाएर आर्शिवाद दिने गर्छन् । यसले सन्तानको दिर्घायु र सुख स्वास्थ्यरहने जनविश्वास रहेको छ ।
नटुवालाई मधेशमा नाचगान लगायत कला प्रदर्शनी गर्ने समुदायको रुपमा समेत चिनिन्छ । नटुवा जाति समुदायको नाम र पहिचान परम्परागत पेशाकै आधारमा स्थापितभएको छ । नेपालमा नटुवाहरुले आफुलाई नट भनेर चिनाछन ।तर विस्तारै यस पेसामाअन्य समुदायको प्रवेश भएको पनि पाईएको छ । नटुवाहरु शारीरिक रुपमा पुरुष भएपनि महिलाको जस्तो पहिरण गरेर सोही हाउभाउमा नाच्ने गर्छन् । जसले मनोंजनको साथ साथै धार्मिक परम्पराको समेत विश्वास स्थापित गरेको हुन्छ । नाच्नेहरुले दिएको आर्शिवाद लाग्ने र जिवन सुखमयहुने गरिएको कारणले मन्दिरहरुमा उनिहरुले नाच्ने र आर्शिवाद स्वरुप पैसा लिने गरेका छन । जसले उनिहरुको जिवकोपार्जन हुन्छ र्। कुनै खालको कर वा चापले नभई आफ्नो मनको भावना र भगवान प्रतिको श्रद्धाले गर्दा हामी यो पेशामा लाग्ने गर्छौ,’ नटुवा भएरै बाँचिरहेका शिवपुजन साह भन्छन्र्, म १२ वर्षको हुँदा मलाई सपनामा माता सीता आएकी थिइन् । उनलेनै मलाई यो काममा लाग्न भनेकी थिइन् । मलाई लाग्यो म जानकी जीको सेवामा लाग्नु पर्छ । सोही भावनाका कारणले मैले घरपरिवार छाडेर यो काम गर्न थाले । हामीलाई गाउँसमाजमा हेला पनि गरिन्छ भने जसको घरमा हाम्रो आर्शिवाद फलिफाप हुन्छ उनीहरुले धेरैबढि सम्मान पनि गर्छन् ।’
मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथा सँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोक नाच दिन प्रतिदिन लोप हुन थालेको छ । ऐतिहासिक नाच लोप हुन थालेपछि कलाकारहरू पनि विदेश पलायन हुने क्रम बढे्को छ र्। अब पहिलाको जस्तो जमाना छैन् । अहिले यो पेशालाई सबैले हेप्न थालेका छन् । कमाई छैन । परिवारमा सम्मान छैन । यस्तो अवस्थामा यो पेशालाई युवा पुस्ताले अँगाल्न चाहेका छैनन्,’ जनकपुरधाम १४ का नटुवा नाच मण्डली रहेको संयोजक मुनेश्वर महरा भन्छन्र्, यो पेशालाई राष्ट्रको तर्फबाट पहिचान भएन । सम्मानित बनाउन प्रयास गरिएन भने भविष्यमा नटुवा नाच लोप हुने उनको भनाइ छ ।
मथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन राजा सहलेस, शितवसन्त, रुनाझुना, जङ्गलीबादशाह, गोपीचन्दकुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहादयाल सिंह जस्ता नाचहरू लोप हुन थालेका हुन् । जसमा महिलापात्रको रुपमा पुरुषहरुले महिलाको भेषभुषा धारण गरेर नाच्ने गरेका थिए । अर्को तर्फ मन्दिरमा सन्तान प्राप्त भएपछि भाकल अनुसार समेत नचाउने परम्परा रहेको छ । नटुवा समुदाय नेपाल र भारतमा नट, नटुवा र नेटुवाका रुपमा परिचित छन् । नटुवा समुदायको नाम र पहिचान परम्पारगत पेशाकै आधारमा स्थापित भएको हो । नटुवा समुदाय नेपाल तथा भारतमा बसोबास गर्ने घुमन्ते समुदायको रुपमा पनि चिनिन्छन् । भारतमा यो समुदाय बढिजसो फिरन्ते समुदायको रुपमा रहे पनि नेपालमा भने उनीहरुको बसाइमा धेरै हदसम्म स्थिरता छ ।
नटुवा जीवनको सामाजिक इतिहासः
नट भनेको नर्तक हो । तराईवासी दलितमा नट पनि पर्छन् । उनीहरुको एक परम्पारगत पेशा पनि नाच्नु नै हो । त्यस्तै, पहाडका वादीहरुको पुरानो पेशा पनि नाच्ने गाउने नै हो । त्यसैले, तराई मधेशका नटुवा र पहाडका वादी मनुस्मृतिमा उल्लेख गरिएकै नट हुन् भनेर भन्न सकिन्छ । नेपालमा बसोबास गर्ने नटुवा समुदायको इतिहास सयौं वर्ष लामो छ ।
नेपालको १३ ओटा जिल्लामा बसोबास गर्ने नेटुवा जातिको कुल जनसंख्या ३ हजारभन्दा बढि रहेको छ । उनीहरु कपिलवस्तु, कञ्चनपुर, बाँके, रुपन्देही, नवलपरासी, पर्सा, काठमाडौं, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र ओखलढुंगामा बसोबास गर्दछन् । पूर्वी नेपालका सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लामा बसोबास गर्ने तथा हिन्दू धर्म मान्ने नटुवा जातिमा नटुवा नाच प्रचलित छ । मैथिली, भोजपुरी, ठेठी र बजिका भाषा बोल्ने मधेसी समुदायमा मनाइने छठ पर्वमा भाकलको रुपमा नटुवा नाच नचाउने चलन छ । भाकल मानेको परिवारले छठ पूजा गर्ने पोखरी तथा नदीको घाटमा नटुवा समुदायका महिला तथा पुरुषहरुलाई बोलाएर नाच नचाउने र त्यस बापद उनीहरुलाई अनाज तथा नगद दिने चलन छ । तर, पश्चिम नेपालमा बसोबास गर्ने नटुवा समुदायमा यस्तो नाच चलनमा रहेको पाइँदैन् ।
मधेशी समाजभित्र बसोबास गर्ने नटुवा समुदायको आर्थिक, सांस्कृतिक र राजनीतिक पक्ष हेर्दा अन्य जातजाति र समुदायको अवस्थाभन्दा निकै पछाडि तथा कमजोर स्थितिमा रहेको छ । नेपाली समाजमा प्रभुत्वशाली वर्ग र उनीहरुको राज्यबाट परित्यक्त ठानिएका नटुवा समुदायसँग जुन जुन विशिष्ट गुण, ज्ञान, क्षमता र कला सीप छ ती सामाजिक विभेद र हेलाहोचोको कारण र गुजारा नै नचल्े खालको जीविकाको चरम दबावका कारण लोप हुने क्रममा छन् । बद्लिँदै गरेको सामाजिक संरचना र राज्यको कानूनले उनीहरुलाई समाज र राज्यमा अगाडि ल्याउने र सशक्त पार्ने काम गरेको छैन् । बरु उनीहरुसँग परम्परागत सीप, ज्ञान र कौशल हराउँदै जाने र नयाँ सीप, ज्ञान र कौशल पाउन कठिन भएर जीवन र जीविका चलाउननै धौ धौ हुने क्रम अरु बढ्ने देखिन्छ । त्यसैले उनीहरु आफ्नो जीविका गर्ने वैकल्पिक पेशालाई लिएर निकै चिन्तित देखिन्छन् । फेरिँदो समय र सामाजिक परिवेश अनुसार पेशा फेर्न र त्यसका लागि शिक्षादीक्षा पाउन उनीहरुमा पनि भित्री चाहना नभएको भने होइन । तर त्यो परिवेश उनीहरुका लागि सामुन्ने आउन सकेको छैन ।