टेस्ट क्रिकेटबाट संन्यास लिएको करिब एक महिना भइसक्यो, तर विराट कोहलीको अनुपस्थिति अझै पनि भारतीय क्रिकेट प्रेमीका लागि पच्न सकेको छैन। इंग्ल्यान्डसँगको टेस्ट शृङ्खला अब १४ दिनमै सुरु हुँदैछ, र त्यहीँबाट कोहलीको सेतो ड्रेसमा नदेखिने यथार्थ अझ चर्को रूपमा महसुस हुन थालेको छ।
यसैबीच, अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले एउटा चकित पार्ने भनाइ राखेका छन्—यदि भारत इंग्ल्यान्डमा नराम्रोसँग हार्छ भने विराट कोहली फेरि टेस्ट क्रिकेटमा फर्किन सक्छन् ! उनले यस्तो सम्भावनाको संकेत दिएका छन्, यदि भारतले ५–० ले हार बेहोरे भने समर्थक, कप्तान र चयनकर्ताहरूबाट विराटमाथि फर्कन दबाब आउनसक्छ।
कोहलीको संन्यासपछि भारतीय टोलीको भविष्य?
कोहलीले ३६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट विदा लिएको निर्णय लिँदा धेरैले आश्चर्य मानेका थिए। उनले हालै मात्रै आईपीएल उपाधि जितेपछि समेत स्पष्ट पारेका थिए—टेस्ट क्रिकेट आईपीएलभन्दा पाँच स्तर माथि छ। यस्तो भनाइबाट स्पष्ट छ कि कोहलीको टेस्ट क्रिकेटप्रतिको मोह अझै बाँकी छ।
आईपीएल प्रमुख अरुण धुमलले पनि कोहलीलाई संन्यास फिर्ता लिन आग्रह गरिसकेका छन्। यद्यपि, कोहलीले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
माइकल क्लार्कको विश्वास: कोहली फर्किन्छन् !
"यदि भारत इंग्ल्यान्डमा ५–० ले हार्छ भने विराट कोहली फर्किन्छन्," क्लार्कले Beyond23 पोडकास्टमा भने। "उनी अझै पनि टेस्ट क्रिकेटलाई क्रिकेटको सर्वोच्च रूप मान्छन्। उनी अझै राम्रो खेलिरहेका छन्। यस्तो परिस्थितिमा कप्तान, चयनकर्ताहरू र समर्थकको समर्थनले उनीलाई फर्किन प्रेरित गर्न सक्छ।"
कोहलीको अधुरो अभियान?
२०१४ को इंग्ल्यान्ड भ्रमण विराटका लागि दुःस्वप्न साबित भएको थियो, पाँच टेस्टमा जम्मा १३४ रन। तर चार वर्षपछि उनले ७०० रन प्रहार गर्दै सानदार पुनरागमन गरे। त्यसयता भारत इंग्ल्यान्डमा इतिहास बनाउन नजिक पुगेको थियो, तर सफलता हात लागेन।
यसपटक भारतको टोली अपरिचित, तर सम्भावनायुक्त
रोहित शर्मा पनि टोलीमा नहुने संकेतबीच भारत कम अनुभवी टोली लिएर इंग्ल्यान्ड जान लागेको छ। यद्यपि क्लार्कको विश्वास छ "यो टोली जित्नसक्छ। तर यदि हार भयो भने, कोहलीको पुनरागमनका लागि जनदबाब अवश्य खडा हुनेछ।"